मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २२ सोमबार २१:१६:oo
Read Time : < 1 मिनेट
समाचार

बालिका बलात्कार आराेपमा पक्राउ परेका पूर्वनगरप्रमुख सिवाकोटी कारगार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार २१:१६:oo

बालिका बलात्कार आरोपमा पक्राउ परेका झापा बिर्तामोडका पूर्वनगरप्रमुख ध्रुवकुमार सिवाकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो। 

आफ्नै घरमा केही वर्षदेखि काम गर्दै आएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा प्रहरीले २४ मंसिरमा उनलाई पक्राउ गरेको थियो। एमाले नेता सिवाकोटी ०७४ मा बिर्तामोड नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। पक्राउ परेपछि बिरामी भएको भन्दै उनी अधिकांश समय अस्पताल बसेको प्रहरी स्रोतकाे भनाइ छ। 

सिवाकोटीले तीन वर्षदेखि ती बालिकालाई पटक-पटक बलात्कार गर्दै आएको आरोप छ। बलात्कारबाट बच्न भारतको आसामस्थित आफन्त कहाँ जानेक्रममा पीडित बालिकालाई सीमानाका काँकडभिट्टास्थित महिला उद्धारमा खटिएको एक संस्थाले सोधपुछ गर्ने क्रममा घटना खुलेको थियो। सोधपुछका क्रममा बालात्कारको सिकार भएको खुलेपछि उक्त संस्थाले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको थियो।

पीडित बालिका बिर्तामोडको एक क्याम्पसमा प्राविधिक विषय अध्ययन गर्छिन्। उनी कलेजकै पोसाकमा नाका पुगेकी थिइन्। उनी काँकडभिट्टा हुँदै भारत गएको थाहा पाएपछि फर्काउन गएका पूर्वनगरप्रमुख सिवाकोटीलाई प्रहरीले काँकडभिट्टाबाटै पक्राउ गरेको थियो।

स्रोतका अनुसार ती बालिकाका बुबाआमा दुवैको निधन भइसकेको छ। आर्थिक अवस्था कमजोर भएकी उनी आफन्तको शरणमा थिइन्। सोही क्रममा सिवाकोटीले घरमा काम गर्ने र पढाउने भन्दै लगेका थिए।