बरन्डामा रहेका २२ उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी तोकेको छ। मन्त्रालयले सोमबार ती उपसचिवसहित ३० जनालाई जिम्मेवारी तोकेको हो।
मन्त्रालयबाट प्राप्त सूचीअनुसार बरन्डामा रहेकासहितका उपसचिवलाई विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा सरुवा र कामकाजमा खटाइएको छ। सामान्यमा हाल ३५ जना उपसचिव बरन्डामा छन्। उपसचिवलाई जिम्मेवारीविहीन बनाइएकोबारे आइतबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो। समाचारपछि सोमबार प्रधानमन्त्री कार्यालयले तीन दिनभित्र जिम्मेवारी तोक्न मन्त्रालयलाई निर्देशन दिएको थियो।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि मन्त्रालयले सोमबार बरन्डाका उपसचिवलाई जिम्मेवारी तोकेको हो। अझै बाँकी रहेका उपसचिवलाई जिम्मेवारी तोक्ने गरी मंगलबार निर्णय गरिने मन्त्रालयले जनाएको छ।