नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अतिआवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टिमले आयोजना गरेको डब्लुआरसी लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन्।
'खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,' उनले भने। आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए। नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपिएलजस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठुलो कुरा भएको उनको भनाइ छ।
'यस्ता लिग केन्द्रमा मात्र नभएर देशका कुनाकन्दरामा पनि आयोजना गरिनुपर्छ। लिगबाट उत्पादित जनशक्तिले नेपाली राष्ट्रिय टिम र देशलाई नै योगदान पुग्छ। देशलाई विश्वसामु चिनाउने उपयुक्त माध्यम पनि खेल क्षेत्र हो। त्यसैले खेलका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकार उदार हुनुपर्छ,' उनले भने।
रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ। 'बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन। शिक्षा, स्वास्थ्य र खेलकुदमा सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ। प्रतिभाशाली खेलाडीलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुद क्षेत्रमा फड्को मार्न सक्छ,' उनले भने।
खेलकुद क्षेत्र मानिसको फिजिकल मात्र नभई देशको अर्थतन्त्रको मेरुदण्डसमेत भएको उनले बताए। खेलले मानिसलाई अनुशासित बनाउने महरको धारणा छ। 'राजनीतिमा पनि निष्पक्षताको ग्यारेन्टी हुनुपर्छ। त्यो शिक्षा खेलबाट लिन सकिन्छ। खेल मानिसलाई अनुशासित बनाउने विशाल क्षेत्र हो,' उनले भने। पोखरा पर्यटकीय राजधानी भएको र यहाँ खेल आयोजना हुँदा देश, विदेशमा यसको महत्त्व थप बढेर जाने महरले बताए।