पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा १७५ कैदी बन्दी राख्ने क्षमता भए पनि हाल ५६५ जना राख्नुपरेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ महिला र १५० पुरुष कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीनजना पाँच वर्षभन्दा मुनिका बालबालिका, ९२ जना महिला र ४७० जना पुरुष छन् ।
कैदी बन्दीहरूको संख्या बढी भएपछि उनीहरूको व्यवस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । आवश्यक संख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । ‘रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदी बन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ,’ उनले भने ।