मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
पुलिसविरुद्ध बल नियन्त्रणमा राख्दै आर्मीकी गोलकिपर अञ्जना रानामगर । तस्बिर सौजन्य : एन्फा
रमेश सुवेदी काठमाडाैं
२o८१ पौष २२ सोमबार o६:१o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विवादपछि विभागीय डर्बी बराबरीमा

फिफा रेफ्री नवीन्द्र महर्जनले खेलको २२औँ मिनेटमा नेपाल पुलिस क्लबले गरेको गोललाई मान्यता नदिँदा खेल २५ मिनेटभन्दा बढी समय रोकियो

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार o६:१o:oo

गोलको विषयलाई लिएर २५ मिनेटभन्दा बढी समय विवाद भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको विभागीय डर्बीमा दुवै क्लबले समान १ अंक बाँडे । खेलको २२औँ मिनेटमा पुलिसकी रक्षक पूजा रानाले गोल गरिन् । रक्षक अमृता जैसीको फ्रिकिकमा पूजाले सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् ।

पूजासँग आर्मीकी गोलकिपर अञ्जना रानामगर ठोक्किन पुगिन् । त्यसअघि नै पूजाले अञ्जनालाई बिट गर्दै बायाँ खुट्टाले गोल गरेकी हुन् । गोललाई फिफा रेफ्री नवीन्द्र महर्जनले फल भन्दै मान्यता दिएनन् । गोलपछि खुसियाली मनाइरहेका पुलिसका खेलाडी र अफिसियलले रेफ्रीको निर्णयमा आपत्ति जनाएका हुन् । खेल २५ मिनेटबढी समय रोकियो । माथिल्लो स्तरबाट आएको दबाब खेप्न नसकेपछि खेलाडी र अफिसियल खेल खेल्न राजी भए । बाँकी समयमा दुवै टोलीले गोलको अवसर बनाए पनि फाइनल थर्डमा चुक्दा गोल गर्न सकेनन् ।

पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले रेफ्रीका कारण ३ अंक गुमाएको बताए । ‘त्यो गोल नै थियो । रेफ्रीको गल्तीका कारण महत्वपूर्ण ३ अंक गुमायौँ,’ सिलवालले भने, ‘रेफ्रीको निर्णयले पूरा टिम दबाबमा पर्छ । हामीलाई त्यस्तै भयो । रेफ्रीविरुद्ध लिखित उजुरी गरे पनि हुने केही होइन । त्यसैले यस्तो निर्णय भइरहन्छ ।’

पहिलो चरणमा पनि दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । अमृता जैसीले पुलिस र अमिषा कार्कीले आर्मीका लागि दोस्रो हाफमा गोल गरेका थिए । हाल अमिषा आर्मीको सहायक सेनानी भएपछि तालिममा छिन् । घाइते दीपा शाही पनि टोलीमा नहुँदा आर्मीले सोचजस्तो प्रदर्शन गर्न सकेन । पहिलो चरणमा टोलीको प्रशिक्षक टेकबहादुर बुढाथोकी थिए ।

यसपटक भने कृष्णसिंह ठगुन्ना प्राविधिक क्षेत्रमा उभिएका छन् । उनी भने रेफ्रीको निर्णय नै अन्तिम हुने बताउँछन् । ‘रेफ्रीको निर्णय नै अन्तिम मान्नुपर्छ । अन्य कुनै प्रतिक्रिया छैन,’ उनले भने, ‘हामीले खेलाडीलाई एक्टिभ भएर बस्न निर्देशन दियौँ । अंक भने सोचेजस्तो आएन ।’

‘ब्याड लाइट’ले खेल्न गाह्रो
एन्फाको तालिकाअनुसार पुलिस र आर्मीबिचको खेल दिउँसो ३ बजेलाई थियो । तर, ९० मिनेटको खेल सकिँदा पौने ६ नै बज्यो । जसका कारण खेलाडी ब्याड लाइटमा खेल्न बाध्य भए । खेलाडीलाई बल देख्नैै हम्मेहम्मे प¥यो । तैपनि खेल्नुपरेको थियो । एन्फा भने खेल रोक्ने तयारीमा थिएन । ‘ब्याड लाइटले गर्दा खेल्न गाह्रो भइरहेको थियो । तर, आयोजकले नरोकेपछि खेल्न परिहाल्यो,’ एक खेलाडीले भनिन् । पुलिसका प्रशिक्षक सिलवाल पनि ब्याड लाइटमा खेल्न गाह्रो भएको बताउँछन् । ‘अन्तिम १५ मिनेट त खेल्न गाह्रो भयो । आयोजक पनि जसरी हुन्छ खेल नरोक्ने अवस्थामा आयो । हामीले केही भन्ने कुरा आउँदैन ।’

हाल एन्फाले समयावधि पूरा भइसकेको कृत्रिम मैदानमा बिहान ९ बजे र दिउँसो १२ बजे पुरुष यू–१६ लिग खेलाइरहेको छ । त्यसकारण एन्फाले महिला लिग ३ बजेपछि मात्रै त्यही मैदानमा आयोजना गर्ने गरेको छ ।

सुदूरकी बिर्सना पुलिसमा 
विवादका कारण सुदूरपश्चिम प्रदेशबाट महिला लिगको पहिलो चरण खेल्न नपाएकी मिडफिल्डर बिर्सना चौधरी दोस्रो चरणमा पुलिसमा आबद्ध भएकी छिन् । उनले पहिलो खेलमा पनि ९० मिनेट खेलिन् । दोस्रो खेलमा भने पूरा समय मैदान बिताउँदै प्लेयर अफ दी म्याच चुनिइन् । ‘मिडफिल्डमा राम्रो खेलाडी चाहिएको थियो । पहिलो चरण खेल्न नपाएकी बिर्सनालाई अनुबन्ध ग¥यौँ । सोचेजस्तो खेलिरहेकी छिन्,’ प्रशिक्षक सिलवालले भने । पहिलो चरणमा जिल्ला र प्रदेशबिच बिर्सनाजस्तै दुई दर्जन खेलाडी सुदूरपश्चिमबाट खेल्न वञ्चित भएका थिए । प्रदेश संघले नियमित खेलिरहेका खेलाडीलाई दुव्र्यवहार गरेपछि उनीहरू काठमाडौं आएका थिएनन् । दोस्रो चरणमा भने बिर्सनालाई पुलिसले अनुबन्ध गरेको हो ।

 

रेफ्रीका कारण ३ अंक गुमायौँ
भोलानाथ सिलवाल, प्रशिक्षक, पुलिस

रेफ्रीका कारण महत्वपूर्ण ३ अंक गुमायौँ । त्यो गोलमा कुनै फल नै छैन । एन्फामा लिखित उजुरी गरे पनि रेफ्रीमाथि कुनै कारबाही हुँदैन । त्यसैले उजुरी पनि गर्दैनौँ । यस्तो निर्णयले क्लबलाई घाटा लाग्छ । विभागीय टिम भएर मात्रै हो, अन्यथा त्यस्तो घटनापछि मैदान प्रवेश गर्ने थिएनौँ । यस्ता घटना साफ च्याम्पियनसिपमा पनि भएको थियो । अन्तिममा ब्याड लाइटका कारण खेल खेल्न गाह्रो भयो । तैपनि खेल्नैपर्ने बाध्यता थियो ।

 

रेफ्रीको निर्णय नै अन्तिम
कृष्णसिंह ठगुन्ना, प्रशिक्षक, आर्मी

त्यो घटनामा के भएको थियो, त्यो रेफ्रीको अन्तिम निर्णय हो । यसमा हामीले कुनै प्रतिक्रिया दिनु ठिक हुँदैन । त्यो २५ मिनेटमा खेलाडीलाई आराम गर्न भनेका थियौँ । एक्टिभ हुनु भन्यौँ । दीपा शाही र अमिषा कार्की नहुँदा घाटा भएको छ । दुई खेलाडीको अभाव खड्किएको छ ।