अछाममा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत् सिफारिस सेवा सुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा यो सेवा सुरु भएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार गृह मन्त्रालयले आइतबार जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसीआइएमएस) को युजर आइडी र पासवर्ड पठाएको छ ।
यो प्रणाली सुरुपछि अब प्रत्येक स्थानीय तहका वडा कार्यालयले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइनमाफत सिफारिस गर्नुपर्ने छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छिटोछरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने विश्वास लिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।
तत्काललाई नागरिकता लिन आउँदा वडाले अनलाइनमार्फत सिफारिस पठाए पनि त्यसको सक्कल कागजात पनि ल्याउनुपर्ने छ। १ माघबाट कागजात बोकेर आउन नपर्ने उनले बताए । नागरिकताको प्रतिलिपि लिन आउँदा भने पुरानै प्रक्रियाअनुसार कागजात नै बोकेर आउनुपर्ने प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।
उनका अनुसार विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने छ । तर, त्यसका लागि ईन्टरनेट सेवा भने प्रभावकारी बनाइन जरुरी रहेको लम्सालले बताए ।
तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सुरु भए पनि आगामी दिनमा राष्ट्रिय परिचय पत्र तथा अन्य परिचयपत्र निर्माणमा पनि अनलाइन सेवा सुरु गर्ने तयारी छ ।