सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस अन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेको तर्फबाट बहस सुरु हुने भएको छ ।
शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस सुरु भए पनि दुई दिन गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं शेयरधनी पूर्वडिआईजी छविलाल जोशी र जिबी राईका साझेदार एवं सहयोगी लिला पछाईको तर्फबाट उनीहरूका कानुन व्यवसायीले बहस गरेका थिए ।
छवि र लिला पक्षका कानुन व्यवसायीको केही भनाइ बाँकी भए सोमबार सकेपछि लामिछानेको बहस सुरु हुने इजलाश अधिकृत गुरुप्रसाद आर्चायले जानकारी दिए । छवि र लिलाकोतर्फबाट बहस सकिएपछि लामिछानेको कानुन व्यवसायीहरुले बहस सुरु गर्छन तर दुई जनाको पक्षका कानुन व्यवसायीले राख्ने भनाइ कति समय जान्छ भोलिनै थाहा हुने उनले बताए ।
थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाई र सुविज्ञ पन्त लगायतले बहस गर्ने छन् ।
यसअघि छविको पक्षमा शुक्रबार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अर्पुव खतिवडाले बहस गरेका थिए । आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहश गरेका थिए । यसैगरी लिलाको पक्षबाट शुक्रबार र आइतबार अधिवक्ता गणेश भट्टराईले बहस गरेका थिए ।