मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार १७:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गढी र किल्ला संरक्षणका लागि उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १७:२६:oo

ऐतिहासिक गढी तथा किल्लाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु भएको छ। नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा सुरु गरेको हो।

उदयपुरको बोक्सेस्थित पशुपतिप्रसाद गणको पिपलटार व्यारेकको आयोजनामा आइतबार एक समारोहबीच उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पदयात्रा सुरु गरिएको हो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले पुस २१ देखि २७ गतेसम्म एेतिहासिक स्थल उदयपुरगढीदेखि अर्को एेतिहासिक स्थल चौदण्डीगढीसम्मको ९१ किलोमिटर महाभारत पदयात्रा सुरु गरेको छ।

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर र नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङले पदयात्रामा संलग्न टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै पदयात्रा सुरु गरेका थिए। ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र संवर्द्धनका लागि जनचेतना जगाउने नेपाली सेनाले पदयात्रा आयोजना गरेको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताए।

गणपति वाग्लेका अनुसार पदयात्राको माध्यमबाट जनचेतना जगाउने तथा उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ।

‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्वसाधारणहरुको सहभागिता रहने छ। यसले पर्यटन प्रवर्धनसमेत हुनेछ,’ गणपति वाग्लेले भने, ‘पदयात्रा साथै विद्यालय स्तरमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको बारेमा हाजिरी जवाफ, वक्तृत्वकला, निबन्धलेखन र कवितावाचन प्रतियोगिता संचालन हुने छ।’

इतिहास संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विषयवस्तुमा उदयपुरगढी गाउँपालिकाको पंचावती माध्यमिक विद्यालयमा अन्तर माध्यमिक तहस्तरीय हाजिरीजवाफ, रौतामाई गाउँपालिकाको रौता जनता मावि बोलुङखामा निवन्धलेखन प्रतियोगिता, त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका स्थित गाईघाटमा कक्षा ११ र १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता र चौदण्डीगढी नगरपालिकाले कविता वाचन प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको छ।

पदयात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्दै जाने बताइएको छ। यात्रा पूरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ। कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षसहितको समिति बनेको छ।

यात्राको पहिलो दिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ। तेस्रो दिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथोदिन रौता पोखरीमा बास बस्नेछ। त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा, छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौदिन विरेन्द्रबजार हुँदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन हुनेछ। यात्रा तालिकाअनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने छ।