कोशी प्रदेशका पहाडी, उच्च पहाडी र हिमाल भेगका चार सय किलोमिटर क्षेत्रको चार पदमार्गमा पर्यटन विकास परियोजना निर्माण हुने भएको छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय पालिकाहरू र स्विस सरकारको संयुक्त लगानीमा दुई अर्ब ४५ करोड ४१ लाख लगानी रहेको उक्त पदमार्ग पर्यटन विकास परियोजनाको आइतबार कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विटजरल्यान्डका राजदूत डा. डानियल म्युवलीले संयुक्त रूपमा विराटनगरमा शुभराम्भ गरेका छन् ।
२९ पालिकामा कार्यक्रम
२७ वैशाख ०८१ देखि १६ साउन ०८५ सम्म सञ्चालन हुने कोशी प्रदेशमा पदमार्गमा आधारित विकास ( ट्रेलबेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट) परियोजना सफल बनाउन चार पदमार्ग पर्ने २९ पालिकाहरूले पनि आइतबारै सामूहिक हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन । पदमार्ग परियोजनाभित्र शंखुवासभाको चैनपुर, मकालु, पाँचथरको फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, तेह्रथुमको लालीगुराँस नगरपालिका, इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सुनसरीको वराह क्षेत्र नगरपालिका अनि भोजपुरको टेम्केमैयुङ, सन्दकपुर, साल्पा सिलिचुङ, रामप्रसाद राई, हतुवागढी चिचिला र आमचोक गाउँपालिकालगायत रहेका छन् ।
चार लाख श्रमिकलाई प्रत्यक्ष रोजगारी
पहिलोपटक सुरु भएको चार सय किलोमिटरको पहिलो चरणमा चार वर्षका लागि चार पदमार्ग चयन गरिएका छन् । जसमा कोशीका पहाडी, उच्च पहाडी र हिमाली जिल्लाका इलाम, फिक्कल, श्रीअन्तु जोडिएको चियाबारी पदमामार्ग । पाँचथरको फिदिम दिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम अनि फिदिम, लुब्रेकोटी, सिलौटी, पौवाभन्ज्याङ, गुरुवाले, सन्दकपुर, माइपोखरी हुँदै इलाम जोडिएको फाल्गुनन्द पदमार्ग । तुम्लिङटार, खाँदबारी, नुम, गुफापोखरी, वसन्तपुर, जलजले, तिनजुरे मिल्के जोडीको लालीगुराँस पदमार्ग । र तावा भन्ज्याङ, ट्याम्के डाँडा , चखेवा, डालसिँगे, धोत्रे, जलजले, हाँसपोखरी र मैयुङडाँडा र ह्याकुले, रावाधाप, साल्पा पोखरी, सिलिचुङचुली मुन्दुम पदमार्ग छन् ।पदमार्गमा आधारित पर्यटन विकास परियोजनाका टिम लिडर डा. मानबहादुर विश्वकर्माका अनुसार कोशी प्रदेशमा ८२ प्रतिशत पहाडी र हिमाली भेग छ । देशका अग्ला आठमध्ये पाँचवटा हिमाल कोशीमै पर्छन् । पहिचान भएर कार्यान्वयनमा आएका पदमार्ग पर्यटन कार्यक्रमले एक लाख स्थानीयलाई निरन्तर प्रत्यक्ष रोजगार बनाउने लक्ष्य लिएको छ । पदमार्गको प्राकृतिक निर्माण तथा पुनर्निर्माण र स्तरोन्नतिमा चार लाख श्रमिकले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
यसैगरी, पदमार्गका विभिन्न होटेल र होमस्टेका लागि एक हजारजना स्थानीयलाई विभिन्न सीपसम्बन्धी तालिम दिइनेछ । परियोजनाको अन्तिम चरणसम्म पर्यटन पदमार्गअन्तर्गत करिब ७८ हजार पर्यटनकले पदमार्ग भ्रमण गर्ने अनुमान छ । यस्तै, पदमार्गमा दुई हजार निरन्तर नयाँ रोजगारी सिर्जना हुनेछ ।
कोशी प्रदेशका पदमार्गमा भएका वडाहरूमा दुई लाख ११ हजार उपेक्षित समूह र करिब ३८ हजार ६ सय विपन्न समूहका मानिस बसोवास गर्छन् । यीमध्ये ४० प्रतिशतलाई पदमार्ग पर्यटन कार्यक्रमले समेट्नेछ । पदमार्ग पर्यटन कार्यक्रम सफल भएमा स्थानीयले दैनिक कम्तीमा दुई लाख रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।