काठमाडौं महानगरपालिकाभित्र रहेका रुखमा झिलिमिली बत्ती राख्न नपाइने भएको छ । कृत्रिम बत्तीका कारण रुख–बिरुवा सुकेको, करेन्ट लाग्ने डर भएको, चराचुरुंगीको वासस्थान नै लोप हुने अवस्था आएपछि महानगरपालिकाले झिलिमिली देखाउने नाममा रुख–बिरुवामा बालिने बत्तीमा रोक लगाएको हो ।
महानगरभित्रका कतिपय सार्वजनिक जग्गा, व्यक्तिगत जग्गा, विभिन्न पार्क, चौतारामा रहेको होटेल, रेस्टुरा, क्लब, संघसंस्थाहरूले सजावटको नाममा झिलिमिली बत्ती टाँगिरहेका छन् । अब भने महानगरपालिकाभित्र टाँगिएका ती बत्ती निकाल्नुपर्नेछ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र साहको अध्यक्षतामा बसेको महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’, २०८१ स्वीकृत गर्दै सो निर्णय गरेको हो ।
महानगरको कार्यविधिअनुसार क्षणिक अर्थात् तीन दिनसम्मका लागि यस्ता बत्ती राख्न दिए पनि नियमित राख्न पाइँदैन । लहरे बत्ती व्यवस्थापन कार्यविधिले सजावट वा सुन्दरताका लागि कुनै पनि बोट–बिरुवामा लहरेबत्ती राख्न नपाउने व्यवस्था गरेकोले त्यसो गर्नेलाई कारबाही हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार व्यावसायिक तथा सार्वजनिक स्थानमा त्यस्ता बत्ती राख्न पाइनेछैन । यदि क्षणिक समयका लागि राख्नु परे वातावरण व्यवस्थापन विभागबाट अनुमति लिनुपर्नेछ । अन्यथा, महानगरको नगरप्रहरीले अनुगमन गरेर जरिवानासहित बत्ती जफत गर्नेछ ।
रुख–बिरुवामा राखेको झिलिमिली बत्तीले चराचुरुंगीको वासस्थानमा प्रभाव परेको भन्दै वातावरण तथा सम्पदा अभियन्ताहरूले बत्ती हटाउन महानगरपालिकालाई सुझाव दिएका थिए । सम्पदाप्रेमी यादवलाल कायस्थले महानगरपालिकाका मेयर साहलाई पटक–पटक भेटेर यसबारे जानकारी गराएका थिए । महानगरपालिकाको निर्णपछि अभियन्ता कायस्थले खुसी व्यक्त गर्दै यसले चराचुरुंगीको संरक्षणमा मद्दत पुग्ने बताए । ‘काठमाडौं आफैँमा हराभरा र जीवित सहर हो, यहाँ कृत्रिमभन्दा पनि प्राकृतिक कुराले भरिपूर्ण ठाउँ छन्, कृत्रिम बत्ती राखेर चराचुरुंगी र रुखबिरुवा मार्ने काम राम्रो होइन्,’ उनले भने, ‘पटक–पटक आवाज उठाउँदा महानगरले बल्ल सुन्यो ।’
अभियन्ताबाट सुझाव आएपछि महानगरपालिकाको वातावरण विभाग टिमले अध्ययन गरेको थियो । सो क्रममा सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको वास, आहार तथा आवत–जावतमा समेत असर पार्ने देखिएको थियो । दीर्घकालीन रूपमै यस्तो बत्ती राख्न नदिने गरी महानगरपालिकाले कार्यविधि नै बनाएर पास गरेको हो ।
कार्यविधिले जात्रा पर्वमा प्रयोग गरिने बत्ती बढीमा सात दिनसम्म राख्न दिने व्यवस्था गरेको छ । तर त्यसलाई पनि संशोधन गरेर तीन दिनसम्म मात्रै कृत्रिम बत्ती राख्न दिनुपर्ने धारण महानगरकै अन्य जनप्रतिनिधिको छ ।
के के निर्णय भए बैठकमा ?
कार्यपालिका बैठकले पाँचवटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । बैठकबाट पास हुने कार्यविधिहरू ‘कोसेली घर सञ्चालन तथा व्यवस्थापन कार्यविधि’, ‘स्वरोजगार नगरबासीसम्बन्धी कार्यविधि’, ‘उद्यमशीलता, व्यवसाय इन्कुबेसन केन्द्र, प्रविधि अनुसन्धान, नवप्रवद्र्धन केन्द्र तथा कोष सञ्चालन कार्यविधि र ‘एग्रो पुलिङ कार्यविधि’ छन् ।
यसबाहेक महानगरपालिकाले ‘राष्ट्रिय सभा गृह सञ्चालन तथा व्यवस्थापन निर्देशिका’, ‘बाल कोष सञ्चालन मापदण्ड’ तर्जुमा गर्न, ‘नेपाल भाषा पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरूमा समसामयिक संशोधन तथा परिमार्जन’ ‘कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९’ संशोधन गर्ने निर्णय पनि गरेको छ ।
महानगरपालिकाले महानगर सञ्चार प्रतिष्ठानसमेत गठन गर्न लागेको छ । सोका लागि कार्यपालिकाले तोक्नुपर्ने एकजना महिलासहित दुई सदस्यका विषयमा छलफल गर्दै इच्छुक नगरसभाका सदस्यहरूलाई सात दिनभित्र सूचना प्रविधि समितिमा फाराम भर्न आह्वान गरिएको छ ।