काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन बढ्दै गएको छ । यहाँको बढ्दो जनघनत्वसँगै फोहोरको उत्पादन उच्च छ, जसले व्यवस्थापनमा थप चुनौती खडा गरेको छ । हाल उपत्यकाका विभिन्न स्थानमा ल्यान्डफिल साइटहरूको प्रयोग गरेर फोहोर व्यवस्थापन गरिँदै आएको छ । तर, यी साइटहरू उचित व्यवस्थापनको अभावमा जोखिमयुक्त अवस्थामा छन् ।
फोहोर व्यवस्थापनमा वैज्ञानिक र व्यवस्थित उपाय अवलम्बन गर्न जरुरी छ । यसका लागि आधुनिक प्रविधि र सबै तहका नागरिकहरूको सहभागिता आवश्यक छ । ससाना बस्तीहरूदेखि नगरस्तरसम्मका योजनाहरूले मात्र दीर्घकालीन समाधान दिन सक्छ । यसबाहेक, जैविक फोहोरलाई मल उत्पादनमा र अन्य प्रकारको फोहोरलाई पुनः प्रयोग गरेर समस्याको समाधान खोज्न सकिन्छ । फोहोर व्यवस्थापनमा सबैको चासो र सक्रियता आवश्यक छ ।
जब फोहोर व्यवस्थापनस्थल (ल्यान्डफिल साइट)सम्म पुगेको फोहोर कुहिन थाल्छ, तब त्यसबाट अन्यन्तै प्रदूषित तरल पदार्थ निस्कन्छ । जसलाई हामी लिचेट भन्छौँ । जम्मा गरिएको फोहोरको प्रकार, त्यसमा भएको आद्र्रता, ल्यान्डफिल साइटमा भएको फोहोरको मात्रा, वर्षाको पानीको मात्रा आदिले लिचेट उत्पन्न तथा त्यसको भौतिक र रासायनिक विशेषतामा प्रभाव पारेको हुन्छ । महत्वपूर्ण कुरा, अर्गानिक फोहोरको व्यवस्थापन नै हो । जैविक फोहोरजस्तै घरबाट निस्कने खाद्यान्न, घाँस, कपडालगायत यसमा पर्छन् । लिचेटले फोहोरमा भएका विभिन्न प्रदूषक पदार्थ (कन्ट्यामिनेन्ट्स) आफूसँगै बगाएर लैजान्छ । यी प्रदूषित पदार्थहरू जैविक तथा अकार्बनिक गरी दुई प्रकारका हुन्छन् । जैविक पदार्थहरूमा उच्च मात्रामा सिओडी र बिओडीहरू समावेश हुन्छन् भने भारी धातुहरू, अमोनिया, नाइट्रजस्ता अकार्बनिक पदार्थ पनि लिचेटमा पाइन्छ । यी सबै पदार्थ अत्यन्तै हानिकारक र घातक हुन्छन्, जसले पानी र वातावरणीय स्रोतहरूलाई गम्भीर असर पुर्याउन सक्छ ।
हाम्रो घर वा समूहमा हामीले थुपारेका फोहोर उठाएर गाडीहरूले होल्डिङ सेन्टरमा लगेर थुपार्ने गरेका छन् । होल्डिङ सेन्टरमा फोहोरको वर्गीकरणका लागि साधारण प्रविधिको प्रयोग गर्न सकिन्छ, जसले ल्यान्डफिल साइटमा पठाइने फोहोर र लिचेटको मात्रामा कमी ल्याउन सक्छ । हालको स्थितिमा, टेकु होल्डिङ सेन्टरमा फोहोरको वर्गीकरणको सम्भावना छ, जहाँ जैविक फोहोरलाई मल बनाउन र बायोग्यास उत्पादनमा प्रयोग गर्न सकिन्छ । टेकुमा बायोग्यास उत्पादनका लागि एक संयन्त्र पनि स्थापना गरिएको छ, तर सम्बन्धित अधिकारीहरूले यो करोडौँ रुपैयाँको लागत भएको संयन्त्र चलाउन असफल भएका छन् । यसका कारण, सबै फोहोर र बनेको लिचेट ल्यान्डफिल साइटमा पठाइँदै आएको छ ।
हामीले देखेका छौँ, घर र अन्य स्थानबाट संकलित फोहोरलाई सुरुमा सहरका विभिन्न स्थान, विशेष गरी नदीको किनारमा जम्मा गरिन्छ, जहाँ व्यवस्थापन र नियन्त्रणको कुनै व्यवस्था हुँदैन । यस्ता स्थलहरूमा उत्पन्न भएको लिचेट सीधा नदीमा पठाइन्छ, जहाँ कसैले पनि ध्यान दिएको छैन । यस्ता स्थलमा केही व्यक्तिहरू प्लास्टिक र फलाम पुनः प्रयोगका लागि संकलन गर्दछन्, तर बाँकी सबै जैविक र अजैविक फोहोर मुख्य डम्पिङ साइटमा पठाइन्छ ।
बिथोलियो पर्यावरण चक्र
ल्यान्डफिल साइट बन्चरेडाँडा क्षेत्रमा रोग फैलिने, पानी प्रदूषित हुने, दुर्गन्ध बढ्नेलगायत विभिन्न समस्या देखिएको छ । यो सबै हाम्रै असावधानीले हो । हाम्रै घरबाट निस्कने फोहोरले हो । यति मात्रै होइन, जनस्वास्थ्यको जिम्मा लिएका स्वास्थ्य केन्द्रहरूको लापरबाहीले पनि हो । किनकि, स्वास्थ्य केन्द्र वा अस्पतालबाट निस्कने फोहोरलाई स्टेरिलाइजेसन गरेर मात्रै फाल्नुपर्ने नियम छ । तर, काठमाडौंका केही ठुला अस्पताललाई छाडेर बाँकीले यो नियम पालना गरेका छैनन् । धेरैजसो अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य केन्द्रबाट उत्पादन हुने फोहोर स्टेरिलाइजेसन नगरी बन्चरेडाँडासम्म पुग्छ । सिरिन्ज, डेट एक्सपायर भएका औषधि उपचारका क्रममा प्रयोग गरिएका घातक केमिकल यसमा पर्छन् । यसमा ब्याक्टेरिया र भाइरस हुन्छ ।
ल्यान्डफिल साइटमा यसरी कुहिने फोहोर जति कुहिएर–थिचिएर लिचेट (लेदो) उत्पादन हुन्छ । उक्त तरल पदार्थ संकलनका लागि ल्यान्डफिल साइटमा पोखरी बनाइएको छ, तर पर्याप्त छैनन् । अर्को कुरा, लिचेट संकलन गरिए पनि त्यसको ट्रिटमेन्ट गरिएको छैन ।
लिचेट यसरी बग्दै जाँदा कति जमिनमुनि जान्छ त कति खोलामा मिसिन जान्छ । बगेर बन्चरेडाँडा र सिसडोलको मध्यभागमा बग्ने कोल्पु खोला प्रदूषित छ । ल्यान्डफिल साइटवरपर जमिनमुनिको पानी पनि प्रदूषित छ । लिचेटसँग बगेर गएका हेभी मेटलका अवशेष माटोमा जमेर बस्छन् । यसले उर्बर क्षमता घटाउँछ । त्यस्तो क्षेत्रमा उत्पादन भएका फलफूल, तरकारीले पनि त्यही माटोबाट पोषणसँगै हेभी मेटलका अवशेष पनि सोसेका हुन्छन्, जसले त्यहाँ उत्पादन हुने तरकारीहरू पनि विषाक्त बनाइदिन्छ । लिचेट मिसिएको पानीले त्यहाँ रहेका जीवहरू, माछा, बिरुवामा प्रत्यक्ष प्रभाव पार्छ ।
यसबाट माछा तथा वनस्पतिहरू मर्ने, पानीको गुणस्तर घट्ने, रंग परिवर्तन हुनेलगायत समस्या देखिएका छन् । चराचुरुंगी यही विषाक्त फोहोर पानी पिएर संक्रमित हुने गर्छन् । वरपर दुर्गन्ध र रोग फैलिएर मानिसहरू हैरान छन् । बृहत् जनस्वास्थ्य तथा वातावरणीय असर देखिएको छ । लिचेटसँगै मिथेन, अमोनिया, हाइड्रोजन सल्फाइडजस्ता ग्यास पनि बनिरहेको हुन्छ । वरपरका गाउँहरूमा यी ग्यास फैलिएर दुर्गन्ध फैलिएको छ । पानीजन्य रोग फैलिरहेका छन् ।
अहिलेको अध्ययनअनुसार काठमाडौंमा प्रतिदिन प्रतिव्यक्ति सरदर ६ सय ग्राम फोहोर उत्पादन हुन्छ । यसमध्ये ७० देखि ८० प्रतिशत कुहिने फोहोर हो । यसलाई हामीले घरमै व्यवस्थित गर्न सक्दा आधा समस्या आफैँ हल हुन्छ ।
घरमै फोहोर छुट्याएर राख्ने, कुहिने फोहोरलाई भण्डारण गरेर कौसीखेती वा बारीमा मलका रूपमा प्रयोग गर्न सकिन्छ । कोर काठमाडौंमा अधिकांश मानिस भाडामा बसेका हुन्छन् । त्यहाँ खेतीको सम्भावना कम होला । यस्तोमा फोहोर व्यवस्थापनको पहल घरधनीले नै लिनुपर्छ । महानगरले पनि यसमा विशेष योजना बनाउन जरुरी छ । तर, काठमाडौं, भक्तपुर र ललितपुरका पालिकाहरूले एकीकृत योजना बनाउन सके मात्रै फोहोरको उचित व्यवस्थापन हुन सक्छ । नत्र, महानगरको एक्लो प्रयासले पनि फोहोर व्यवस्थापन सम्भव हुनेवाला छैन ।
लिचेटको ट्रिटमेन्ट
हामीले घरमै फोहोर वर्गीकरण गर्न थालेपछि डम्पिङ साइटमा निकै कम लिचेट उत्पादन हुन्छ । हाम्रो मुख्य प्रयास यसमा हुनुपर्छ । यसपछि डम्पिङ साइटमा उत्पादन हुने थोरै परिमाणको लिचेटलाई नियन्त्रण गर्न प्रयास गर्नुपर्ने हुन्छ । यसका लागि विश्वमा विभिन्न पद्धति प्रयोगमा ल्याइएका छन् । त्यसमध्ये, एउटा भौतिक उपचार हो । यसमा हामीले बालुवा र गिट्टीबाट पानीलाई फिल्टर गर्छौँ । जसरी घरमा हामीले फिल्टर गरेर पानी शुद्धीकरण गर्छौं, त्यसरी नै रिभर्स अस्मोसिस वा अल्ट्राफिल्टरेसन प्रविधिमार्फत लिचेटमा भएका विषाक्त पदार्थ, भारी धातु र खनिजलाई फिल्टरमा सोसेर सफा पानीलाई बाहिर पठाउन सक्छौँ । यो अत्याधुनिक प्रविधि हो । तर, महँगो छ ।
अर्को रासायनिक उपचार हो । यसमा हामीले केमिकल प्रयोग गरेर पानी सफा गर्छौँ । केमिकल प्रयोग गर्दा जीवाणु र फोहोर निष्प्रभावी हुन्छन् । तर, केमिकलले वातावरणमा नकारात्मक प्रभाव पार्ने जोखिम पनि हुन्छ । त्यसलाई सम्बोधन गर्नका लागि अन्य प्रविधि प्रयोग गर्नुपर्छ । त्यसकारण, यो प्रविधि पनि महँगो छ ।
जैविक उपचार पनि एउटा उत्तम प्रविधि हो । जहाँ ‘कन्स्ट्रक्टेड वेटल्यान्ड’ भन्ने एउटा अवधारणाको विकास गरिएको छ ।
जहाँ प्राकृतिक प्रक्रियाको नक्कल गरेर बोटबिरुवा र माटोका सूक्ष्मजीवहरूको प्रयोग गरिन्छ । यहाँ सूक्ष्मजीवहरू विशेष रूपमा महत्वपूर्ण भूमिका खेल्छन्, जसले जैविक प्रदूषकलाई तोडेर सरल र सुरक्षित पदार्थमा परिणत गर्छन् ।
अर्को बायोचार प्रयोग विधि हो जुन रासायनिक उपचारकै अर्को विधि हो । यो अति सहज, सरल र किफायती छ । लिचेट उपचारका लागि स्थानीय रूपमा बायोचारको ठुलो मात्रा उत्पादन गर्नुपर्ने आवश्यकता छ । बायोचार विभिन्न प्रकारका जैविक सामग्री र फोहोरलाई पायरोलाइसिस विधिको माध्यमबाट उत्पादन गर्न सकिन्छ । फोहोरको वर्गीकरणपछि उत्पन्न जैविक फोहोरलाई पनि बायोचार उत्पादनमा प्रयोग गर्न सकिन्छ । यद्यपि, यो लिचेट उपचारका लागि पर्याप्त नहुन सक्छ, तर यो ल्यान्डफिल साइटमा जान लागेको फोहोरको मात्रा घटाउने र लिचेटको उत्पादन कम गर्नका लागि एक उत्कृष्ट पहल हुन सक्छ ।
अतिरिक्त बायोचारका लागि, हामी जंगल र कृषिक्षेत्रमा रहेको उपयोगविहीन बायोमासको प्रयोग गर्न सक्छौँ, जुन प्रायः जंगल र खेतमा फालिएका छन् । हाम्रो देशमा गएको वर्ष जुन वन डढेलोको घटना देख्यौँ त्यसको मुख्य कारण भनेको उपयोगविहीन सुक्खा जंगली बायोमास नै थियो । यदि हामीले यो बायोमासको उचित प्रयोग गर्न सक्षम भयौँ भने, यसले वन डढेलो घटाउन मद्दत पुर्याउने मात्र होइन, स्थानीय अर्थतन्त्रको उत्थान गर्न पनि सहयोग पुर्याउनेछ । समुदायहरूले यस बायोमासलाई संकलन गरेर वा स्थानीय रूपमा बायोचार उत्पादन गरेर आम्दानी गर्न सक्छन्, जसलाई लिचेट उपचार क्षेत्रहरूमा प्रयोग गर्न सकिन्छ । यस दृष्टिकोणले फोहोर व्यवस्थापन र पर्यावरणीय संरक्षणमा योगदान पुर्याउन मात्र होइन, स्थानीय समुदायका लागि आर्थिक अवसर पनि सिर्जना गर्नेछ, जसले दिगोपन र वन आगोको जोखिम घटाउन मद्दत गर्नेछ ।
बायोचार बनाइसकेपछि हाम्रो ल्यान्डफिल साइटमा लिचेट संकलन हुने पोखरीमा त्यसलाई राख्न सकिन्छ । अहिले पोखरीबाट कुनै उपचार नगरी पानी सीधा बगेको छ । तर, त्यो पोखरीमा बायोचार हालिदियो भने लिचेट बायोचारबाट बग्दै अगाडि जान्छ । बायोचारले विषाक्त वस्तु र ठोस कणहरूलाई सोस्छ र सफा पानी बग्छ ।
केही समयपछि, लेचेट उपचारका लागि प्रयोग गरिएका बायोचारलाई नयाँ बायोचारको ब्याचले प्रतिस्थापन गर्न आवश्यक हुन्छ ताकि यसको प्रभावकारिता कायम रहोस् । प्रयोग गरिसकेको बायोचारलाई यसको प्रदूषणस्तरको आधारमा विभिन्न तरिकाहरूले व्यवस्थापन गर्न सकिन्छ ।
यदि प्रदूषणको स्तर कम छ भने, केही प्रक्रियापछि बायोचारलाई पुनः प्रयोग गर्न सकिन्छ । जहाँ मध्यमस्तरको प्रदूषण छ, त्यस्तो बायोचारलाई गैर–खाद्य उत्पादन हुने क्षेत्रहरूको माटो सुधारका लागि प्रयोग गर्न सकिन्छ, जसले माटोको पानी समात्ने क्षमता र पोषण सुधार्न मद्दत गर्छ । अत्यधिक प्रदूषित बायोचारलाई भने सुरक्षित रूपमा नियन्त्रित अवस्थामा दहन गरी हानिकारक पदार्थ नष्ट गर्न सकिन्छ, जसले वातावरणीय जोखिमलाई कम गर्छ ।
यसरी, यी उपायहरू अपनाउनाले लिचेट उपचारपछि बायोचार व्यवस्थापनसँग सम्बन्धित चुनौतीहरूलाई प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ । यसले बायोचारको दिगो प्रयोग र सुरक्षित व्यवस्थापन सुनिश्चित गर्दै यसका विभिन्न फाइदाहरूलाई अधिकतम बनाउन मद्दत पुर्याउँछ ।
(मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा उपप्रधाध्यापक भट्टराईसँग अन्वेषण अधिकारीले गरेको कुराकानी ।)