संरक्षित वन्यजन्तुको सिङसहित प्रहरीले पोखराबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। युक्रेनका १२ वर्षीय फिलिप झिल्को भिस्क्यालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
पोखराबाट काठमाडाैं जाने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा उनको झोलामा संरक्षित वन्यजन्तु घोरलको जस्तै देखिने दुई सिङ फेला परेका थिए।
विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरीले दिएको जानकारीपछि वडा प्रहरी कार्यालय रामबजारका अनुसन्धान अधिकृतसहितको प्रहरी खटिएको थियो। प्रहरी टोलीले बरामद सिङसहित फिलिपलाई आवश्यक कारबाहीको लागि पोखरा–१५, नयाँगाउँस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयमा पठाएको ओलियाले जानकारी दिए।
अन्नपूर्ण क्षेत्र पदयात्रामा गएका उनले मनाङ एरियामा बाटोमा फेला पारेर ल्याएको बताएका थिए।