नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही मंगलबार पोखरामा सम्मानित भएकी छिन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले १७औँ हिसान स्पोर्टस् मिट २०८१ को अवसरमा शाहीलाई २५ हजार नगदसहित सम्मान गरेको हो।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट, हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीलगायतले संयुक्त रूपमा शाहीलाई सम्मान गरेका थिए।
म्याग्दीकी शाहीले हिसान कास्कीअन्तर्गतको पोखरा–२ मिरुवास्थित ज्ञानुबाबा बोर्डिङ स्कुलमा अध्ययन गरेकी थिइन्।
सम्मानपछि शाहीले आफूहरूले ज्ञानुबाबा विद्यालयमा अध्ययन गर्दादेखि नै खेलयात्रा सुरु गरेको बताइन्। यस्ता प्रतियोगिताले विद्यार्थीमा हौसला प्राप्त हुने र अगाडि बढ्न सहयोग मिल्ने बताइन्। सक्षम खेलाडी उत्पादनमा यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले आफूले जानेको खेलमा भाग लिन विद्यार्थीलाई आग्रह गरिन्।