गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजका लागि गण्डकी प्रदेशमा नै पहिलोपटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।
गलकोट नगरपालिका- ११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्वारा छातीरोग खोज कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गरे । अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्वारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए ।
क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु. एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरि खोज कार्यक्रम आयोजना गरेर छाती रोगको पहिचान गरिने मन्त्री पाठकले बताए ।
क्षयरोगलगायतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उपचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए ।