कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेशका प्रहरीलाई रोजगारमूलक प्राविधिक शिक्षा दिन रुचि देखाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले मंगलबार मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अवलोकन भ्रमणपछि प्रदेशका प्रहरीहरूलाई आवश्यक प्राविधिक शिक्षा दिनेबारे उपकुलपति डा. सुवासश्री पोखरेलले रुचि देखाएका हुन् ।
डिआइजी खापुङ र उपकुलपति पोखरेलले भेटघाटमा कोशी प्रदेश प्रहरी र मनमोहन प्राविधिक विश्वविद्यालयले आपसी सम्झौता गरेर प्रहरीहरूलाई विभिन्न प्राविधिक शिक्षा दिनेबारे आवश्यक छलफल गरेका छन् ।
छलफलमा डिआइजी खापुङले बहालवाला र रिटायर्ड हुन लागेका प्रहरीहरूलाई आवश्यक कार्यायोजना बनाएर विभिन्न सीपमूलक प्राविधिक शिक्षा दिलाउन सके कार्यक्षेत्रको काम पनि राम्रो हुने र अवकाशपछि पनि पूर्वप्रहरीहरू आत्मनिर्भर बन्न सक्ने बताए । उनले भने, ‘हामी कार्ययोजना बनाएर चाँडै विश्वविद्यालयसँग एमओयू गर्नेछौँ ।’
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले प्रहरी सरकारको संस्थान भएको र विश्वविद्यालयका कुलपतिको निर्देशन भएमा विश्वविद्यालयमा सञ्चालन भइरहेका प्राविधिक शिक्षा प्रहरीलाई सिकाउन आफूहरू पनि तयार भएको बताए । उपकुलपति पोखरेलका अनुसार मनमोहन विश्वविद्यालयले तीनवर्षे डिप्लोमादेखि चार र पाँचवर्षे स्नातक र पाँचवर्षे स्नातकोत्तरसम्मका प्राविधिक कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ ।
यसबाहेक विभिन्न आठवटा विषयमा लामो र छोटा तालिमहरू पनि प्रदान गर्दै आइरहेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिकहरूको परीक्षा लिएर सीप पनि परीक्षण गरिदिने गरेको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयाँलले तालिममा मात्र नभएर प्रहरीले चाहेमा डिप्लोमा स्नातक र स्नातकोत्तर कक्षामा कोटा छात्रवृत्तिमा पढाइका लागि अवसर दिन सकिने जानकारी गराए ।