नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कानुनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योग नवीकरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ।
महासंघले सर्वोच्च अदालतको आदेशअनुसार क्रसर, बालुवा तथा खानी उद्योग सञ्चालनसम्बन्धी मापदण्ड संशोधन गरी नवीकरणको व्यवस्था मिलाउन माग गरेको हो।
महासंघको तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको मंगलबार पदभार ग्रहण तथा सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले निर्माण सामग्री विदेश निर्यात गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले प्रशोधित निर्माण सामग्री निर्यातबाट देशले ठुलो आर्थिक लाभ पाउने भएकाले सरकारले निर्णय गर्ने हिम्मत गर्नुपर्ने बताए।
कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा पनि सहभागी थिए। उनले क्रसर उद्योगमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए।