हरियाली प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले आफैँ बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं. २४ को गुम्बानजिक सात बिघा सार्वजनिक जग्गामध्ये एक बिघामा नर्सरी बनाउन लागेको हो ।
डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष एक करोड बजेटसमेत विनियोजन गरिएको छ । नर्सरीका लागि कम्पाउन्ड, नर्सरी घरलगायत भौतिक संरचना निर्माण सुरु गर्न लागिएको छ ।
दाहालका अनुसार एक वर्षमा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य महानगरको छ । बाहिरबाट बिरुवा खरिद गर्दा महँगाे पर्ने भएकाले आफैँले उत्पादन गरेर सडक किनारामा बिरुवा रोप्न लागिएको हो । सुन्दरता दिने र फलफूलका बिरुवा उत्पादन गरेर रोप्ने योजना महानगरको रहेको छ ।
उपप्रमुख चित्रसेन अधिकारीले गत वर्षबाट महानगरपालिकाले महानगरभित्रका सडकमा वृक्षरोपण गरेर हरियाली बनाउन थालेको बताए । आफ्नै नर्सरी बनेसँगै अहिले प्रतिगोटा एक हजारसम्म पर्ने बिरुवा ३०–४० मा तयार हुने उनको भनाइ छ । अधिकारीले भने, ‘आर्थिक रूपमा पनि महानगरलाई फाइदा पुग्छ ।’
महानगरपालिकाका इन्जिनियर साकार लामाले यही महिनाबाट काम थालिने बताए । सिजनल र बहुवर्षे बिरुवाहरू उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । उनले भने, ‘महानगरपालिकाको सुन्दरता बढाउन, तापक्रम घटाउन र वातावरण संरक्षणमा योगदान पुग्नेछ ।’
महानगरपालिकाले गत वर्ष पाँच हजारहाराहारी बिरुवा रोपेको थियो । यस वर्ष २० हजारहाराहारी बिरुवा खरिद गरेर लगाउँदै छ । आफ्नै नर्सरी बनेसँगै वार्षिक एक लाख बिरुवा उत्पादन गरेर रोप्ने योजना छ ।