ओखलढुंगा खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको हत्यामा १३ वर्षीय नाति (बालक) संलग्न रहेको खुलेको छ। उनीविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत ओखलढुंगाले पाँच दिनको म्याद थप गरेको छ।
प्रहरीका अनुसार ठगमायाको गत ७ मंसिरमा हत्या भएको थियो। हत्यामा संलग्न किशोर आफ्नै दाजुभाइभित्रका नाति हुन्। उनले आगो फुक्ने ढुंग्रोले टाउकोमा प्रहार गरी ठगमायाको हत्या गरेका थिए। हत्यापछि ठगमायाले वृद्धभत्ताबापत प्राप्त गरेको नौ हजार लिएर गएका थिए। उक्त रकम पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी कृष्ण खड्काले बताए।
उनले भने, ‘ठगमायाको हत्या भएकोजस्तो देखियो। अनुसन्धान गर्दै जाँदा घटनामा उनकै नाति संलग्न रहेको देखियो। उनलाई पक्राउ गरिएको छ। थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ। घटना सम्बन्धमा अझै अनुसन्धान हुनेछ।’
प्रहरीका अनुसार ठगमाया घरको बाटो हुँदै हिँड्ने सबैलाई गाली गर्थिन्। हत्यामा संलग्न नातिलाई पनि सामुन्ने पर्नासाथ गली गर्थिन्। गत ७ मंसिरमा नाति उनीकहाँ गएका थिए। त्यस क्रममा पनि उनले कुटपिटसहित गाली गरेकी थिइन्। सोही रिसमा किशोरले आगो फुक्ने ढुंग्रीले तीनपटक टाउकोमा प्रहार गरेका थिए। चोटका कारण ठगमाया घटनास्थलमै ढलेकी थिइन्। र, किशोरले ठगमायासँग रहेको नौ हजार लिएर गएका थिए।
घटनास्थलको मुचुल्कापछि भने उनले लिएर गएको नौ हजार रुपैयाँ घटनास्थलस्थित घरको दलिनको चेपमा राखिदिएका थिए। सूचनापछि प्रहरीले रकम राख्ने व्यक्तिको खोजी गरेका थिए। सोही क्रममा किशोर पक्राउ परेका थिए।
डिएसपी खड्काले भने, ‘किशोरले हजुरआमासँग रहेको नौ हजार लिएर गएको रहेछ। पछि फेरि उक्त रकम सोही घरमा ल्याएर राखेछ। सूचनापछि अनुसन्धान भयो। सोही क्रममा किशोर पक्राउ पर्यो।’