पाँचौँ संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता आगामी पुस दोस्रो साता हुने भएको छ। सात सय कोल्मा बराहाकोट सम्पर्क मञ्च स्याङ्जाको आयोजनामा हुन लागेको प्रतियोगिता ८ पुसमा हुने आयोजकले जनाएको छ।
खेलकुदका माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा हुने आयोजक समाजका अध्यक्ष दुतप्रसाद गुरुङले जानकारी दिए।
उनका अनुसार खुला दौड २५ किलोमिटर, महिलाका लागि खुला १० किलोमिटर, २१ वर्षमुनिका सहभागीका लागि १० किलोमिटर र विद्यालयका विद्यार्थीको लागि विद्यालयस्तरीय पाँच किलोमिटर छात्र-छात्रा दौड हुनेछ।
प्रतियोगितामा प्रथम, दोसो र तेस्रो हुनेले क्रमशः २५ किमितर्फ ५०, ४०, ३०, महिला र २१ वर्षमुनितर्फ समान जनही १५, १०, ५ र विद्यार्थीतर्फ १२, ८, ४ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजक समितिका सचिव जीवन थापामगरका अनुसार अघिल्ला संस्करणको सहभागिता संख्याको आधारमा यस वर्ष चार विधामा गरी तीन सयभन्दा बढी धावकले प्रतिस्पर्धा गर्नेछन्। कोल्मा बराहा चौरबाट सुरु हुने दौड सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन सुरु भएकै ठाउँमा आएर सम्पन्न हुनेछ।