बालबालिका र युवाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफ नेटले विद्यार्थीलाई डिजिटल सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुने साइबर अपराध, हिंसा र भेदभावपूर्ण क्रियाकलापबाट बच्न र सुरक्षाका उपाय दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो।
कार्यक्रममा २० विद्यालय र कलेजका ४० भन्दा बढी विद्यार्थी सहभागी थिए। टिकटक र चाइल्ड सेफ नेटको सहकार्यमा गरिएको कार्यक्रम काठमाडौंसँगै बागमती, गण्डकी र कोशी प्रदेशमा गरिने जनाइएको छ।
साइबर बुलिङ, गलत सूचना, अनलाइन गुर्मिङ, अनावश्यक र अश्लील सामग्रीको प्रयोग, अनलाइन यौन दुरुपयोग र शोषणजस्ता गम्भीर विषयमाथि कार्यशालामा छलफल गरिएको छ। कार्यशालामा सामाजिक सञ्जालका सेलेब्रिटी, कलाकार र टिकटकमा कन्टेन्ट राख्ने युवाहरूसँग विद्यार्थीले सुरक्षाबारे छलफल गरेका थिए।
बालबालिका र किशोरकिशोरीहरू इन्टरनेटको माध्यमबाट विभिन्न रूपमा प्रभावित भइरहेकाले अभिभावक, विद्यालय, नागरिक समाज र सरकारले डिजिटल सुरक्षाबारे जनचेतनामूलक काम थाल्नुपर्ने चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले बताए। उनले भने, ‘इन्टरनेटको माध्यमबाट विभिन्न खालका आपराधिक गतिविधि बढिरहेका छन्। साथै, इन्टरनेटको कुलतले उनीहरूको जीवनशैलीमा असर पर्न थालेको छ। इन्टरनेट सुरक्षाबारे अभिभावक, नागरिक समाज र सरकारले ठोस कदम चाल्न अत्यावश्यक देखिन्छ।’