धनकुटाको सहिदभूमि गाउँपालिकाअन्तर्गत खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका राई समुदायको पापानी चाड सुरु भएको छ । स्थानीय राई समुदायले नयाँ बाली भित्र्याउने खुसियालीमा पापानी चाड मनाउने गर्छन् ।
विशेष गरेर सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका राईहरूले यो पर्व मनाउने गर्छन् । उनीहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्टदेवताको पूजा–आराधना गरी पर्व मनाउने गर्छन् । कार्तिक शुक्ल पूर्णिमापछि आउने मंगलबारदेखि सहिदभूमि गाउँपालिका– ३ स्थित साकेन्वाथानमा पूजा गरी पर्व मनाउने गरिन्छ । नयाँ बाली भित्र्याएको खुसियालीमा ६ दिन, ६ रातसम्म नाचगान गरी एक–आपसमा खुसियाली साटासाट गर्दै पर्व मनाउने गरेको सहिदभूमिका स्थानीय नरेन्द्र कश्चित राईले बताए ।
पापानी पर्वमा किराँत राईहरूले कुलदेवताको पूजा–आराधना गर्नुको साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने गर्छन् । पापानी नाच नाच्दा सबैजना एक आपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गरिन्छ । छिन्ताङ, आँखीसल्ला र खोकुका राई जातिको सांस्कृतिक धरोहरको रूपमा रहेको पापानी नाच पछिल्लो समय लोप हुँदै गएको छ । यसको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सहिदभूमि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरी रहेको पालिका अध्यक्ष मनोज राईले बताए । चाडको अवसर पारेर पालिकाले हरेक वर्ष दुई दिन स्थानीय बिदा दिँदै आएको छ ।