Skip This
स्वर्गीय आनन्दकाे अनुभूति गराउने तिलिचो ताल
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार १५:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्गीय आनन्दकाे अनुभूति गराउने तिलिचो ताल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार १५:oo:oo

हिमालको काखैमा रहेको संसारकै बढी उचाइमा रहेको तिलिचो ताल आँखैअगाडि नियाल्न पाउँदा चितवनकी एलिशा कमलीलाई युद्ध जितेको अनुभूति भयो । पहिलोपटक तिलिचो पुगेकी एलिशा भन्छिन्,  ‘जीवनमा एकपटक भए पनि तिलिचो ताल पुग्ने पहिलेदेखिको धोको थियो, पूरा भएकोमा असाध्यै खुसी छु ।’ उनीसँगै चितवनकै अनिता कमली पनि तिलिचो पुग्ने आफ्नो सपना पूरा भएको बताउँछिन् ।

उनीहरूसँगै दोर्दी गाउँपालिका– १ भारतेका स्मारिका सेढाईं पनि तिलिचो पुगेकी थिइन् । नाैजनाको समूह बनाएर तिलिचो पुगेका उनीहरू तिलिचो पुग्दा युद्ध जितेको अनुभूति भएको बताउँछन् । ‘समुद्री  सतहदेखि चार हजार ९१९ मिटर उचाइमा रहेको तालको मनोरम दृश्यले जाउँजाउँ लाग्योे,’ स्मारिका भन्छिन्, ‘तिलिचो ताल पुग्दाको खुसी शब्दमा बयान नै गर्न सक्दिनँ ।’

संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल गन्तव्य बनाएर दैनिक दर्जनौँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिका– ९ मा पर्ने हिमताल सामुद्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । पछिल्लो सयम तिलिचो तालसम्म बाह्यभन्दा आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् ।

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौँ पर्यटक पछिल्लो समय तिलिचोसम्म पुग्ने गरेका छन् । कतिपय पर्यटकले गन्तव्य नै तिलिचो ताल बनाएर पनि आउने गरेका छन् ।

मुख्यतः भदौदेखि पुससम्म तिलिचो पुग्ने उचित समय मानिन्छ भने फागुनदेखि वैशाखसम्म दोस्राे सिजनको रूपमा लिने गरिएको छ । अग्ला हिमशृंखला, थोरङलापास, लार्केपासलगायत रीतिरिवाज, वेशभूषा र गुम्बा छोर्तेन यहाँका महत्त्वपूर्ण स्थान हुन् ।

मनाङका ८० प्रतिशत नागरिक पर्यटन व्यवसायमा लागेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङ बताउँछन् । तिलिचो ताल ३.८ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । 

पौराणिक किंवदन्तीअनुसार यस ताललाई काग भुसुन्डेतालका नामले पनि चिनिन्छ । साथै ताल पर्या–पर्यटन, जैविक विविधता, जलीय जीवनचक्र अध्ययन गर्न पनि उपयुक्त मानिन्छ । संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलाेमिटरको दूरीमा पर्छ ।

खाङसारबाट तारेगुम्बा, श्रीखर्क हुँदै लगभग चार घण्टाको पदयात्रापछि तिलिचो बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रातको बासपछि झन्डै पाँच घण्टाको उकालो हिँडेर तिलिचो ताल पुगिन्छ ।

तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि र हिमशृंखलाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरेको छ । कष्टकर र जोखिमपूर्ण यात्रापछि तिलिचो पुगेका पर्यटकहरू स्वर्गीय आनन्द मिलेको  बताउँछन् ।