प्रधानमन्त्री केपी ओलीले १७ मंसिरदेखि हुने औपचारिक चीन भ्रमणमा क्रममा कुनै पनि ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् ।
चीन भ्रमणको एजेन्डाबारे छलफल गर्न सुझाव लिन सिंहदरबारमा बोलाइएका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको तथा चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएकोसमेत बताएका छन् ।
‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदै छ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नुहुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै उनको सचिवालयद्वारा प्रेषित प्रेस नोटमा भनिएको छ, ‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्छौँ ।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल हुने पनि भविष्यवाणी गरे । ‘सरकारमा रहेका कांग्रेस र एमालेबिच भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ छैन । विश्वशान्ति र नेपालको हितबाहेक हामी अरू कुनै काम गर्दैनौँ । म यसमा ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।
चीन भ्रमणमा विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै विद्युत् प्रसारणलाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिएका थिए। उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने पनि उल्लेख गरे । यो भ्रमणलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने पनि उनको भनाइ थियो ।
छलफलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट पारेका थिए । गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई उनले सुझाव दिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारूढ दुईदलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको जानकारी दिइन् । प्रधानमन्त्री तहबाट चाँडै नै सबै एजेन्डालाई अन्तिम रूप दिने पनि बताइन् । दुई दलमा प्रधानमन्त्रीको भ्रमणका विषयमा कुनै विवाद नरहेको पनि उनको भनाइ थियो ।
छलफलमा कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं उपत्यकाबाहिर रहेका कारण अनुपस्थित थिए । पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याललगायत सहभागी थिए ।
प्रधानमन्त्री ओली १७ मंसिरमा चीन गएर २० मंसिरमा फर्किने कार्यतालिका तय भएको छ । दुवै देशले १४ मंसिरमा एकैसाथ भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको छ । परराष्ट्रमन्त्री राणा भने १३ मंसिरमा चीन भ्रमणमा जाने र भोलिपल्ट चिनियाँ समकक्षी वाङ यीसँग प्रधानमन्त्री ओलीको भ्रमणका एजेन्डाबारे छलफल गर्ने तय भएको छ