पाटेबाघको छालासहित कपिलवस्तु प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले शिवराज नगरपालिका– २ हल्लानगरबाट बाघको छालासहित बुटवल उपमहानगरपालिका– ५ गोलपार्क बस्ने वर्ष ४१ का विष्णुप्रसाद भट्टराईलाई पक्राउ गरेको हो । उनलाई विशेष सूचनाका आधारमा करुणा रेस्टुरेन्ट एन्ड लजबाट नियन्त्रणमा लिइएको हो ।
खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लास्टिकको बोराभित्र राखेको अवस्थामा बाघको छाला बरामद भएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । छालाको टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाइ भएको, पुच्छरको भाग दुई फिट दुई इन्च लम्बाइ भएको चारवटा दाह्रा, चारैखुट्टाको पन्जाको भागमा नङ भएको र छालामा गोली लागेजस्तो देखिने तीनवटा सानो प्वाल रहेको बताइएको छ ।
उक्त छाला र मानिसलाई लु.५८ प. ९७५५ नम्बरको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तुमा जिम्मा लगाइएको छ ।