Skip This
राज्यको उदासीनतामा परेको दैभात बस्ती 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
२o८१ मङ्सिर १० सोमबार १३:४१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

राज्यको उदासीनतामा परेको दैभात बस्ती 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार १३:४१:oo

दैभात नाम जति सुन्दर छ, त्योभन्दा सुन्दर छ यहाँको बस्ती । चारैतिर डाँडाले घेरिएको बिच भागमा रहेकाे सुन्दर गाउँको नाम हो दैभात । यो बस्ती विकास भएको धेरै भएको छैन । ०४५ पछि दैभातमा मानव बसोवास सुरु भएको हो । 

तत्कालीन प्रधान डम्बरसिंह धामीले दैभातमा बस्ती बस्न सुरु गरेका हुन् । एक घरबाट सुरु भएको दैभातमा अहिले झन्डै २३ परिवारको बसोवास छ । जंगल फँडानी गर्दै बस्ती विकास सुरु भएको थियो । तर, यो बस्ती जति सुन्दर भए पनि यहाँ पुग्न भने निकै सकस छ ।

यो ठाउँमा एउटा विद्यालयबाहेक विकासका संरचाना अरू केही पुगेकाे छैन । समग्रमा भन्नुपर्दा दैभात गाउँमा एउटा आधारभूत विद्यालयबाहेक अरू सेवा सुविधाबाट नागरिक बन्चित छन् ।

आधारभूत स्वास्थ्य सेवाबाट नागरिक बन्चित 

संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिनेछैन भनी उल्लेख छ । यस्तै, उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनिएको छ । तर, अपिहिमाल गाउँपालिका– २ दैभातका नागरिक स्वास्थ्य सेवाबाट निकै टाढा छन् । 

वर्षौँदेखि उनीहरूले आधारभूत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । दैभात गाउँबाट वडा कार्यालय र घुसा स्वास्थ्य चौकीसम्म पुग्न कम्तीमा चार घण्टा हिँड्नुपर्छ । जंगलको बाटो भएर एक्लै हिँड्न सकिने अवस्था छैन । 

स्थानीय भरतसिंह धामी भन्छन्, ‘चिसो लागेर टाउको दुखिहाल्यो भने पनि सिटामोल पाउन सकिने अवस्था छैन ।’ पालिकामा निर्माण भइरहेको १० शय्याको अस्पताल पुग्न एक दिन लाग्छ । पालिकाले निर्माण गरिरहेको अस्पतालमा पालिकाभित्रका वडा नम्बर १, २, ५ र ६ का नागरिकले सेवा पाउन सक्ने अवस्था छैन ।

गाउँ छोड्ने बढे

दैभात गाउँका २३ घरधुरीमा १८७ जना छन् । तर, अहिले गाउँमा मुस्किलले ६० जना होलान्, विद्यालयका प्रधानाध्यापकसमेत रहेका भरतसिंह धामी भन्छन्, ‘गाउँमा सेवा सुविधा केही नहुँदा बालबालिका र ठुलो उमेर भएका गाउँ छोडेर गएका छन् ।’ 

यहाँ कक्षा पाँचसम्म मात्रै पढाइ हुन्छ । विद्यार्थी संख्या न्यून छ । कक्षा ६ देखि बाहिर पढ्नुपर्छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा नै गाउँमा नभएपछि बाध्यतावश बाहिर लगेर पढाउनुपर्ने अभिभावकको बाध्यता छ । बालबालिकाको रेखदेख गर्न अभिभावकसँगै जानुपर्ने हुँदा गाउँमा मान्छे थोरै छन् ।

‘घरमा एकजना, दुईजना बढीमा चारजनासम्म मात्रै भेटिन्छन्,’ स्थानीय प्रकाशसिंह धामीले भने । कुनै घटना भइहाल्यो भने पनि मान्छे पाउन मुस्किल हुने अवस्थामा पुगेको छ । विकासको अनुभूति नागरिकले नपाएकै कारण यहाँ दिनप्रतिदिन स्थानीयले गाउँ छोड्नुपर्ने बाध्यता भएको धामी बताउँछन् ।

दैभात गाउँ पुग्न सजिलो बाटो भने कहीँबाट पनि छैन । अपिहिमाल गाउँपालिका– २ घुसाबाट दैभात पुग्न पनि उकालो बाटो पर्छ । वडा नम्बर ५ मकरी गाडबाट दैभात पुग्न ६ घण्टा उकालो चढ्नुपर्छ । वडा नम्बर ६ को सितोलाबाट पनि उस्तै उकालो चढे मात्रै दैभात गाउँ पुग्न सकिन्छ । 

‘मकरी गाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्न र मान्छे हिँड्ने राम्रो घोरेटो बाटो चाहिने अवस्था छ,’ धामी भन्छन्, ‘दैभातवासीले सडक सपना देखेका छैनन्, तर राम्रो बाटो भए पनि समयमै बिरामीले उपचार पाउँथे । खाद्यान्न दैनिक उपभोग्य वस्तु ढुवानी सस्तो हुने थियो ।’ 

‘नागरिकले मकरी गाडमा पाँच हजार ५६० रुपैयाँमा मोटो चामल किन्छन् । मकरी गाडबाट मान्छेले ढुवानी गर्ने हो भने ६० रुपैयाँ प्रतिकिलो भाडा लाग्छ,’ प्रकाशले भने, ‘आर्थिक अवस्था कमजोर भएकाहरूले कसरी खाद्यान्न जोहो गर्न सक्छन् । खच्चडबाट ढुवानी गरे पनि २० रुपैयाँ पर्छ । यो ठाउँमा खच्चड हिँड्नेसमेत राम्रो बाटो नहुँदा मुस्किलले ढुवानी हुन्छ ।’ 
आयस्रोतको रूपमा जडीबुटी मात्रै हो । गाउँको उत्पादनले ६ महिना पनि खान पुग्दैन । जिल्लाभरि विद्युतीकरणको काम भइरहेको भए पनि अहिलेसम्म दैभातमा बिजुली पुगेकाे छैन । 

विद्यार्थी संख्या न्यून
शिशु कक्षादेखि कक्षा पाँचसम्म सञ्चालनमा रहेको सिद्धनाथ आधारभूत विद्यालय दैभात विद्यार्थी संख्या न्यून छ । ०५६ सालमा स्थापना भएको विद्यालयमा अहिले विद्यार्थी संख्या १६ मात्रै छ ।

विद्यालयका प्रधानाध्यापक भरतसिंह धामीका अनुसार शिशु कक्षामा तीनजना, कक्षा एकमा तीनजना, कक्षा दुईमा तीनजना, कक्षा तीनमा दुईजना, कक्षा चारमा तीनजना र कक्षा पाँचमा दुईजना विद्यार्थी अध्ययरत छन् । विद्यालयमा दुईजना राहत, एकजना पालिका, एकजना बालविकास शिक्षक र एकजना कार्यालय सहयोगी छन् ।

धेरैले अभिभावकले बालबालिका धनगढी, दार्चुला लिएर गएपछि विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको हो । माथिल्लो कक्षामा अध्ययन गर्न बाहिर जानुपर्ने बाध्यता भएपछि अभिभावकले गाउँभन्दा सहरमै पढाउन बालबालिका लिने गरेको प्रधानाध्यापक धामीको भनाइ छ ।

विद्यार्थीको दिवाखाजा खुवाउन पनि विद्यालयलाई निकै समस्या भएको उनले बताए । मकरी गाडबाट दिवाखाजा ल्याउनुपर्छ । गाउँपालिकाले प्रतिकिलो १० रुपैयाँ भाडा दिएको छ । तर, मकरी गाडदेखि दैभातको भाडा मान्छे भए ६० तथा खच्चडले प्रतिकिलो २० रुपैयाँ लिने गरेका छन् । अहिले विद्यार्थीलाई जेनतेन गरेर खाजा खुवाउने गरिएको उनले बताए ।