बुद्ध दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ सम्पन्न भएको छ। सम्मेलनमा थाइल्यान्डबाट आएकी ९८ वर्षीया आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने? भन्ने विषयमा प्रवचन दिएकी छिन्। कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एन्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा सम्पन्न सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए।
‘धम्म डिस्कसनविद् आचार्य सुजिन’ नामक सम्मेलनमा बुद्ध धर्मका विद्धान, अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरी थाइल्यान्डसहित विभिन्न देशबाट ६० जना सहभागी थिए। सम्मेलनमा नेपालबाट चार सयभन्दा बढीको सहभागिता थियो।
कार्यक्रममा मन्त्री पाण्डेले बुद्धले दिनुभएको ज्ञानलाई आफ्नो जीवन पद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेको बताए। उनले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नुभन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण गर्नुपर्छ।’
यस्तै, कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेस्रो विश्व युद्ध त हुँदैन? भन्ने त्रास रहेको वेला बुद्ध जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्धनहरू एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्त्वपुर्ण भएको बताए।
आयोजक कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले विश्व शान्तिको सन्देश फैलाउन सम्मेलन फलदायी भएको विश्वास व्यक्त गरे।