खाँदबारी नगरपालिका–५ माल्टामा अन्तर पालिका महिला भलिबल प्रतियोगिता हुने भएको छ। आइतबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारेमा जानकारी दिइएको हो ।
बालाचतुर्दशी (अधेरी बजार)को अवसरमा खाँदबारी नगरपालिका–५ खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिता १२ देखि १४ मंसिरसम्म हुने र तयारी सुरु भइसकेको खाँदबारी–५ का वडाध्यक्ष टंकबहादुर घिमिरेले जानकारी दिए। जिल्ला भलिबल संघको समन्वयमा आयोजना हुने प्रतियोगितामा संखुवासभा, भोजपुर र सुनसरीका ११ टिमको सहभागिता रहनेछ।
प्रतियोगितामा संखुवासभामा जन्म भई काठमाडौंमा भलिबल खेलमा नाम कहलिएका भलिबल प्रशिक्षक कुमार राई, राष्ट्रिय खेलाडी सुमित्रा रेग्मी र जेनिसा विश्वकर्मालगायतका खेलाडी आउने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले एक लाख, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी, तृतीयले नगद ३५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्त्वनाले नगद २५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।