पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएकाे एक स्थानीय अधिकारीले बताएका छन्।
पाकिस्तान सुन्नी बहुल देश हो, तर अफगानिस्तानको सीमानजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सिया समुदायको बाहुल्यता छ, र यो समुदाय दशकौँदेखि सुन्नी बहुसंख्यक पाकिस्तानीको निशाना हुने गरेको छ।
गत साता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका सिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो।
‘नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने सर्तमा भने। उनका अनुसार मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना सिया समुदायका व्यक्ति रहेका छन्।
शनिबार रातिसम्म पनि हल्का र गह्रौँ हतियारसहित गोली हानाहान जारी रहेपछि करिब तीन सय परिवार घर छोडी भागेका थिए।
स्थानीय प्रशासनका एक अधिकारीले भने, ‘कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ, र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ।’
सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न संघर्ष गर्दै आएको छ।