बाजुराको हिमाली गाउँपालिकाको बिच्छया युनामा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आइतबार दिउँसो विद्युतकाे लाइन तान्न रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुईजना घाइते भएका छन् ।
सोही ठाउँका अन्दाजी ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अन्दाजी ४८ वर्षीय सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
युनामा रहेको कादुरी जलविद्युत् आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताएका छन् । उनका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल ल्याउन हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।
बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।