मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ९ आइतबार १३:२o:oo
Read Time : > 1 मिनेट
सप्तरंग

पोखरामा टीकामाया–बलराम सारंगी साँझ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १३:२o:oo

पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा टीकामाया–बलराम सारंगी साँझको आयोजना गरेको छ । उक्त अवसरमा पाँच दशकदेखि लोकगायनमा सक्रिय दम्पती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार नगदसहित सम्मान गरिएको छ । 

उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गरेकी थिइन् । समाजमा योगदान पुर्‍याएका ‘भुइँमान्छे’लाई सम्मान गर्ने अभियानस्वरूप दम्पतीलाई रोजिएको सारंगी साँझका संयोजक अमृत भादगाउँलेले बताए । ‘योगदानको जीवन बाँचेका, तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौँ,’ उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔँ ।’ 

कार्यक्रममा साहित्यकार सुरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोकसंस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताए ।

कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्वदम्पतीले सारंगीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए । पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’लगायत केही गीत गाएका थिए । 

को हुन् टीकामाया र बलराम ?
पोखराको कालिका नगरमा बसोवास गर्दै आएका लोकगायकदम्पती टीकामाया र बलराम दुवैजना ५८ वर्षका भए । दुवैले करिब पाँच दशकदेखि सारंगी रेट्दै आएका छन् । सागीको धुनसँगै उनीहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्छन् । 

भोजपुरमा जन्मिएकी टीकामाया विद्रोही नारी हुन् । महिलाले सारंगी बजाउनुहुँदैन भन्ने त्यतिवेलाको परम्परागत मान्यतालाई तोडेर उनले पाँच वर्षकै उमेरमा सारंगी वादन सुरु गरेकी थिइन् । सारंगी बजाएर सार्वजनिक रूपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन् । तीसको दशकमा टीकामायाकाे स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो । 

कालिकानगरका बलराम पनि सानैदेखि सारंगी बजाउँथे । उनको स्वरमा पनि तीनवटा गीत रेकर्ड भएका छन् । आजका दिनमा पनि यो दम्पती सारंगी बजाउँदै गाउँघर डुल्छ ।