मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ मङ्सिर ९ आइतबार १२:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगानी जुटेसँगै १३५ मेगावाट क्षमताको मनाङमर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १२:४२:oo

मनाङमर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । मनाङमर्स्याङदी जलविद्युत् कम्पनी प्रालिद्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि गत असोज ६ मा चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो ।

आयोजनाको वित्तीय व्यवस्थापनको काम सकिएसँगै निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । ‘कर्जा सम्झौताअनुसार बैंकले १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलरबराबर ऋण लगानी गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ ।

यस आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर छ । कम्पनीमा बुटवल पावर कम्पनी लिमिटेड, चिनियाँ लगानीकर्ता- एसिआइजी इन्टरनेसनल लिमिटेड, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्युवाइइसी इन्टरनेसनल कम्पनी लिमिटेड र उक्त कम्पनीको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेस्टमेन्ट कम्पनी प्रालिको संयुक्त लगानी रहेको जनाइएको छ ।

कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको लगानी र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आयोजनास्थल आसपासका स्थानीयलाई प्रचलित कानुनको अधीनमा रही सेयर उपलब्ध गराउने योजनासमेत बनाएको छ ।

आयोजनाको निर्माणकार्य ४२ महिना छ । अर्धजलाशययुक्त आयोजना रहेको यो मनाङको चामे र नासों गाउँपालिकामा पर्दछ । यस आयोजनाको बाँध चामे गाउँपालिका– ३ कोतोमा तथा विद्युतगृह नासों गाउँपालिका–९ मा बनाइने कम्पनीले बताएको छ ।

आयोजना निर्माण सकिएपछि वार्षिक ७६६ गिगावाट (जिडब्लूएच) विद्युत् उत्पादन हुनेछ । यी स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त सेयर लगानीमा मर्स्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो आयोजना पहिलो आयोजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘मनाङ र लमजुङमा अवस्थित अन्य दुई आयोजनामा १३९.२ मेगावाट क्षमताको लोअर मनाङमर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी– २ जलविद्युत् आयोजना छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यी तीनवटै आयोजनाको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत एक अर्ब २० करोड अमेरिकी डलर रहनेछ । उल्लिखित प्रत्येक आयोजना छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिने जनाइएको छ ।