एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अत्यन्त सन्तुलित बनाउन चाहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा विकास गर्दै छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेको बताएका छन् ।
पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले भारतभन्दा अघि चीन भ्रमण गर्नु अपरिपक्वता भन्दै विरोध गर्नेहरूको भनाइप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली १७ मंसिरमा चीन भ्रमणमा जाँदै छन् ।
जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणको विरोध गर्नेहरूको तर्क वाहियात भएको पनि बताए । ‘कतिले के–के न व्यवसाय भेटेजस्तै गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्दै छन् । कस्तो हुन्छ परिपक्व भनेको ? कता जानुपर्ने ? धर्मशास्त्र, संविधान, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखेको छ कि ?’ प्रधानमन्त्रीले भने, ‘यी वाहियात कुरा हुन् । हामी सबै छिमेकीलाई सम्मानपूर्वक सम्बन्ध, पारस्परिक सम्मानका आधारमा व्यवहार गर्छाैँ, कसैप्रति वैरभाव छैन ।’