स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएभन्दा बढी शुल्क लिएको गुनासो सुनिन थालेपछि स्वास्थ्य मन्त्रालयले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।
अस्पतालका सेवाबारे सेवाग्राही अनभिज्ञ हुने र उपचारमा समस्या भइरहेको जनगुनासो आउन थालेपछि सेवा शुल्क सार्वजनिक गर्ने निर्णय भएको मन्त्रालयले जनाएको हो । जनगुनासो बढ्दै गएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । पत्रमा शल्यक्रिया शुल्क, सबै खालका शड्ढयाको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ । यसैगरी, टिकटसहितका अरू सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले निर्देश गरेको छ ।
एक हप्ताभित्र शुल्क सार्वजनिक नगरेको पाइएमा कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ । ‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए–नभएको अनुगमन गर्ने तयारी गरेको छ । पहिलो चरणमा अनुगमन गरिनेछ । बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
स्वास्थ्य सेवालाई पारदर्शी बनाउन प्रयास गरेका हौँ : प्रदीप पौडेल, स्वास्थ्यमन्त्री
आमनागरिकबाट अस्पतालको सेवा शुल्क महँगो भएको तथा देखिने गरी थाहा नपाएको गुनासो हामीले सुनेका छौँ । यसको सम्बोधन हुने गरी वेबसाइट तथा सबैले देख्ने गरी सेवा शुल्क सार्वजनिक गर्नुहुन सबै संघीय अस्पताल तथा निजी मेडिकल कलेजलाई पत्राचार गरिएको छ । यस व्यवस्था लागू गरी स्वास्थ्य सेवालाई पारदर्शी बनाउने प्रयास गरेका छौँ ।