मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २७ मंगलबार o५:५८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अवसरको सदुपयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार o५:५८:oo

एकपटक एउटा आर्ट ग्यालरीमा एकजना ग्राहक पुगे । उनी त्यहाँ बिक्रीका लागि प्रदर्शनीमा राखिएका चित्रलाई ध्यानपूर्वक हेर्दै थिए । उनले त्यहाँ दुईवटा अलि अनौठा चित्र देखे । पहिलो चित्रमा व्यक्तिको कपालले उसको अनुहार पूरै ढाकेको थियो । र, खुट्टामा पँखेटा थिए । दोस्रो चित्रमा पछाडि फर्केको व्यक्तिको खुइलिएको तालु टल्किरहेको थियो । 

ग्राहकले पहिलो चित्र देखाउँदै व्यापारीसित प्रश्न गरे– साहुजी, यो चित्र कसको हो ? व्यापारीले जवाफ दिए– यो अवसरको चित्र हो सर ! ग्राहकले पुनः प्रश्न गरे– अनि यसको अनुहार कपालले किन ढाकिएको छ त ? व्यापारीले जवाफ दिए– किनकि, जब अवसर आउँछ, मान्छेले यो चित्रको मान्छेलाई जस्तै उसलाई चिन्न सक्दैनन् । ग्राहकले फेरि अर्को प्रश्न गरे– अनि यसको खुट्टामा पँखेटाचाहिँ किन नि ? व्यापारीले पुनः धैर्यपूर्वक जवाफ दिए– अवसर आएपछि तुरुन्तै भागेर बेपत्ता हुन्छ । यदि त्यसको सही समयमा उपयोग हुन सकेन भने त्यो तुरुन्तै उडेर अलप हुन्छ । त्यसैले, यसका खुट्टामा पँखेटा राखिएको हो । 

ग्राहकले दोस्रो चित्र देखाउँदै प्रश्न गरे– अनि यो पछाडिबाट तालु खुइलिएको देखिने यो चित्रचाहिँ कसको हो त ? व्यापारीले फेरि पनि मुसुक्क हाँस्दै उही शैलीमा जवाफ फर्काए– यो पनि अवसरकै चित्र हो । यदि अवसर हात लागेको समयमा त्यसलाई कपालमा समातेर भाग्नबाट रोक्न सकियो भने त्यो तपाईंको हुन्छ । तर, आलटाल गरेर फुर्सदमा समात्ने कोसिस गरियो भने टाढा भाग्दै गरेको अवसरको खुइलिएको तालु तपाईंको हातमा आउँछ । ऊ तपाईंको हातबाट चिप्लेर टाढा पुग्छ ।