चाडपर्वलक्षित एक महिना लामो बिदापछि देशभरका शैक्षिक संस्था शुक्रबारदेखि खुलेका छन् । केही शैक्षिक संस्थाले दसैँ–तिहारबिचमा पठनपाठन सञ्चालन गरे पनि अधिकांश बन्द थिए ।
लामो बिदापछि खुलेका कतिपय शैक्षिक संस्थामा भने तत्काल पठनपाठन गर्न सक्ने अवस्था छैन । असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्याएका विद्यालयमा कसरी पठनपाठन जारी राख्ने भन्ने अन्योल छ । कतिपय विद्यालयमा बाढी पसेको थियो भने कतै पहिरोले पुरेको अवस्था छ ।
बाढीपहिरोका कारण ललितपुरको कोन्ज्योसोमस्थित ज्ञानज्योति आधारभूत विद्यालयको संरचना ध्वस्त बनेको छ । विद्यालय भवन तहसनहस भएपछि पठनपाठन रोकिने अवस्था छ । अस्थायी टहरा (अस्थायी सिकाइ केन्द्र) निर्माण गरेर पठनपाठन गर्ने गरी गाउँपालिकाले तयारी गरिरहेको छ ।
काभ्रेको कालिकादेवी माविमा पनि बाढी पसेपछि विद्यालय संरचना ध्वस्त भयो । यो विद्यालयमा पनि अस्थायी संरचनाबाट पठनपाठन गरिँदै छ भने काभ्रेकै नवज्योति सिमभञ्ज्याङ आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवासीय विद्यालय, भालेश्वर मावि र कौशिक वैदिक गुरुकुल विद्यालयले पनि अस्थायी संरचनाबाट पठनपाठन सुरु गर्दै छन् । यी विद्यालयको स्थायी संरचना कहिले बन्ने भन्ने टुंगो भने लागेको छैन ।
शिक्षा मन्त्रालयले ४ कात्तिकसम्म बाढीपहिरो प्रभावित स्थानीय तहलाई विद्यालय भवनमा पुगेको क्षति मर्मत वा पुनर्निर्माणमा लाग्ने लागतसहित विवरण पठाउन निर्देशन दिएको थियो । विद्यालयहरूले विवरण पठाए पनि स्टिमेट र पुनर्निर्माण योजना अझै सुरु भएको छैन । कम क्षति भएका कतिपय विद्यालयको पुनर्निर्माण भने स्थानीय तहले नै गर्दै छन् । शिक्षा मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार लागत माग भएअनुसार स्टिमेट तयार गरिएको छ ।
कतिपय ठाउँमा केन्द्र सरकारको आवश्यकता नपर्ने भएपछि स्थानीय तहहरूले नै विद्यालय बनाउने तयारी गरेका छन् । धेरैले बजेट र योजना माग गरेका छन् । मन्त्रालयले क्षति पुगेका विद्यालयको वर्गीकरण गर्न सकेको छैन । कुन विद्यालय केन्द्र सरकारले बनाउने, कुन प्रदेशले बनाउने, कुन स्थानीय तहले बनाउने र कुन विद्यालयले नै मर्मतसम्भार गर्न सक्छ भन्ने विवरण मन्त्रालले तय गरेको छैन ।
मन्त्रालयका अनुसार बाढीपहिरोका कारण शैक्षिक संरचनामा पाँच अर्बभन्दा बढीको क्षति पुगेको छ । बाढीपहिरोमा परी १८ जना विद्यार्थीले ज्यान गुमाएका थिए भने देशभर दुई सयवटा विद्यालयमा क्षति पुगेको थियो ।
बाढीपहिरोले पुनर्निर्माण गर्नुपर्ने गरी २४ विद्यालयमा क्षति पुर्याएको छ । यी विद्यालयलाई अस्थायी संरचनाबाट भए पनि पठनपाठन सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ ।