१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
२o८१ कार्तिक २२ बिहीबार १३:५७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

छठमा केराको व्यापारले महोत्तरीका किसान उत्साहित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १३:५७:oo

आज छठ पर्व धुमधामका साथ मनाइँदै छ। तराई–मधेशमा मात्र नभई छठ अहिले देशका विभिन्न क्षेत्रमा मनाउन थालिएको छ। सूर्यलाई भगवानको स्वरूप मानी केरा, उखुलगायत प्राकृतिक फलफूल तथा घरमा तयार पारिएको ठेकुवा, भुस्वालगायतका सामग्रीसहित अर्घ्य दिएर छठ मनाइन्छ। तीन दिन निराहार रही निष्ठाका साथ मनाइने छठ पर्वमा सूर्यलाई अर्पण गरिने फलफूलमध्ये केरा प्रमुख हो। पछिल्लो समय छठमा स्थानीय स्तरमै उत्पादित केराले बजार पाएपछि किसानहरू खुसी छन्।

महोत्तरीको सम्सी गाउँपालिका– ४ गैढा भेटपुरका माँ वैष्णो देवी कृषि फर्मका सञ्चालक रामध्यान मण्डलले झन्डै तीन बिघा जग्गामा केरा खेती गर्दै आएका छन्। पछिल्लो तीन वर्षदेखि उनले वार्षिक २५० मेट्रिक टनका दरले केरा उत्पादन गरी स्थानीय बजारमा पठाइरहेका छन्। जी९ जातको केरा उत्पादन गर्दै आएका रामध्यानले छठलगायतका विभिन्न पर्वमा स्थानीयसहित जनकपुर र बर्दीबास बजारमा केरा बेच्दै आएका छन्। उनी आफूले उत्पादन गरेको केराले राम्रो बजार पाएकोमा खुसी छन्।

केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले खेती विस्तार गर्दै थप पाँच बिघामा झन्डै १० हजार केराका बोट लगाएका छन्। ती बोटले अर्को वर्ष उत्पादन दिन थाल्ने रामध्यानले बताए।

भन्सारले समेत केराको घरीको भन्सार नकाट्ने भएकाले विदेशबाट आयातित केराभन्दा स्थानीय उत्पादनकै माग बढी हुने गरेको हो। जलेश्वर भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतका अनुसार सिंगो केराको घरी ल्याउन नमिल्ने भएकाले नेपाल भित्रिने केराहरू हत्था काटेर मात्र आउँछ। तर, छठका लागि केराको घरी नै बढी बिक्री हुने भएकाले नेपाली उत्पादनको माग बढेको हो। जी९ जातको केरा गुलियो र सामान्यतया रोगमुक्त हुने भएकाले समेत नेपाली उत्पादनकै माग बढी रहेको किसानहरू बताउँछन्।

स्थानीय स्तरमा केराको उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले समेत कृषकहरूलाई प्रोत्साहित गर्दै छ। कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त कार्यालय प्रमुख मनीष पालले केरालगायत अन्य फलफूल खेतीमा कृषकलाई प्रोत्साहित गर्न केही बजेट छुट्याइएको बताए। उनले अन्य खेतीभन्दा केरा खेती सहज भएको बताउँदै रामध्यानसहित महोत्तरीमा अन्य कृषकहरू केराखेतीमा तल्लीन रहेको बताए।

केराखेतीका लागि यस क्षेत्रको जलवायुसमेत अनुकूल भएकोले केराखेती गर्ने कृषकहरू हरेक वर्ष बढ्दै गएको उनको भनाइ छ। जिल्लाका स्थानीय बजारमा केरा प्रतिघरी चार सयदेखि १५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।