तेस्रो अन्तराष्ट्रिय कृत्रिम हातखुट्टा दिवसका अवसरमा वाकाथन कार्यक्रम गरिएको छ। कृत्रिम अंग तथा सहायक उपकरण सेवा समाज नेपाल तथा कृत्रिम हातखुट्टा तथा सहायक सामग्री व्यवसायी संघले भृकुटीमण्डपबाट वाकाथन आयोजना गरेको हो।
वाकाथन सुरु हुनुअघि कृत्रिम हातखुट्टा प्रयोगकर्ताले दिवससम्बन्धी जानकारी भएको पर्चा बेलुनमा राखेर आकाशमा उडाएका थिए।
कार्यक्रम युएस एडको फिजिकल रिह्याबिलिटेसनअन्तर्गतको सहयोगमा भएको थियो भने कार्यक्रम संयुक्त रूपमा पोस नेपाल र आलाडाले गरेको हो। कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर रहेका थिए।
प्रोस्थेटिक एवं अर्थोटिक क्षेत्रमा कार्यरत सबैलाई एकै ठाउँमा राखी एकताको भावमा कार्य अघि बढाउनु सबैको जिम्मेवारी रहेको कुरा यसै क्षेत्रमा कार्यरत एवं आयोजकको तर्फबाट सुदन बडालले बताए।