रुग्ण उद्योगलाई निजीकरण गर्न किन आवश्यक हुन्छ ?
सरकारले भन्दा निजी क्षेत्रले राम्ररी स्रोतको उपयोग गरेर उद्योगलाई थप सबल बनाउन सक्छ भने निजीकरणमा जानु ठिक हुन्छ । यस्तो अवस्थामा उद्योगहरू बढी सक्षम र प्रतिस्पर्धी बन्न सक्छन् । निजीकरणमा गइसकेपछि तिनले नागरिकप्रतिको दायित्व निर्वाह नगर्लान् कि भनेर जतिसुकै रुग्ण भए पनि अस्पताललाई निजीकरण गरिनु हुँदैन, दक्ष चिकित्साकर्मी थपेर र व्यवस्थापन सुधारेर त्यसैलाई राम्रो बनाउनुपर्छ भन्ने छ । तर, जुट, चुरोट, कपडा उद्योगहरू रुग्ण छन् भने त्यहाँ लगानी थप्नुभन्दा त्यहाँ हुने लगानी नागरिकको शिक्षा र स्वास्थ्यमा खर्च गर्नु राम्रो हुन्छ । अहिले निजीकरण गर्ने भनिएका उद्योग रुग्ण मात्र होइन, बन्द नै भइसकेका छन् । त्यसैले, त्यहाँ सकभर त्यही र नभएमा देश र जनताका लागि आवश्यक अर्को उद्योग सञ्चालन गर्ने सर्तमा निजीकरण गर्दा ठिक हुन्छ ।
अगाडिका उदाहरण हेर्दा निजीकरणमा गएका उद्योग सबल बनेको त देखिएन नि ?
यसमा एक वा दुई उद्योगको अवस्था के भयो भनेर हेर्नुभन्दा पनि देशमा समग्र औद्योगिक अवस्थामा सुधार भयो कि भएन भनेर हेर्नुपर्छ । बाँसबारी जुत्ता कारखाना निजीकरण गर्दा अन्य जुत्ता उद्योगहरूसमेत फस्टाए । बिरगन्ज चिनी कारखाना बन्द भए पनि अन्य चिनी कारखाना खुले । सिमेन्ट उद्योग पनि निकै फस्टाए । त्यसैले, समग्र औद्योगिक वातावरणमा सुधार हुन्छ भने निजीकरण गलत होइन ।
निजीकरणमा जाँदा कस्तो मोडालिटीमा जानु ठिक हुन्छ ?
निजीकरण ऐनमा ६ वटा मोडालिटी समेटिएका छन् । तर, तीमध्ये उद्योग लिजमा दिने र व्यवस्थापन निजी क्षेत्रलाई दिने दुईवटा मोडालिटी नेपालमा सफल देखिएनन् । नेपालको हकमा बिक्री गर्ने मोडालिटी नै ठिक हो । तर, बिक्री गर्दा जग्गाको स्वामित्वको विषयमा विशेष सजग हुनुपर्छ । विगतमा भएका गल्ती दोहोरिन नदिई प्लटिङ गरेर बेच्न नपाइने प्रस्ट व्यवस्था गरेर जानुपर्छ ।