Skip This
घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Tuesday, 11 August, 2026
२o८१ असोज २९ मंगलबार o८:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार o८:२५:oo

विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ। घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए । घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि  १० रुपैयाँ  तिर्नुपर्छ । टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उनले दैनिक पछिल्लो समय आन्तरिक पर्यटककाे संख्या  वृद्धि भइराखेको बताए ।  

पर्यटकको चहलपहल बढेसँगै ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन्। घोडाघोडीमा फोटोग्राफर २५ जनाभन्दा बढी छन् । दसैँभन्दा अगाडि दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँदै फोटोग्राफर लक्ष्मण सुनारले भने, ‘दसैँको दिनदेखि ह्वात्तै पर्यटक बढेका छन् । दिनको पाँच हजारसम्म आम्दानी हुने गरेको छ ।’ 
    
आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन्। घुम्न आउने पर्यटकले खाजा खाँदा व्यापार–व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताए । उनले भने, ‘चाडपर्वको समयमा मात्रै नभई अन्य समयमा पनि घोडाघोडीमा पर्यटक आइरहने वातावरण बनाउनसके हामीलाई आम्दानीको दिगो स्रोत बन्न सक्थ्यो ।’

घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ। घोडाघोडी तालको छेउ हुँदै सहायकर्तालअन्तर्गत रहेको ओजुवातालसम्म पर्यटक पुग्ने गर्दछन्। 

दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाह बताउँछन् । उनका अनुसार पहिलेभन्दा अहिले घोडाघोडी क्षेत्र व्यवस्थित हुँदै गएको छ। पर्यटकका लागि पैदलमार्ग स्थापना भएका छन् । घोडसवारसँगै डुंंगामा सयर गर्न पनि पाइन्छ, त्यसैले पनि पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। 

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुंगीले विचरण गर्ने शान्त र सुरक्षित वासस्थान हो। विश्वजलचर इतिहासमा संकटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुंगीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो।