मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Wednesday, 02 September, 2026
२o८१ असोज १७ बिहीबार १६:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

६३ वर्षको उमेरमा नागरिकता पाएपछि हर्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १६:३३:oo

पछिल्लो दुई वर्षदखि कैयौँपटक कागजात बोकेर नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदै आएका सिराहा गोलबजार नगरपालिका– ३ मुसहर्निया गाउँका ६३ वर्षीय वृद्ध नागरिकता पाएपछि हर्षित भएका छन्।

सामान्यतया बाबुआमाको नागरिकता, वडा कार्यालयले दिने सिफारिस, तीन पुस्ताभित्रको नातेदार, त्यो नभए बसोवास गरिरहेको ठाउँका नागरिकता भएका व्यक्तिले गरिदिएको सर्जमिन मुचुल्का र जनप्रतिनिधिको सनाखतको रुजुपछि १६ वर्षको उमेर पूरा गरेका व्यक्तिले नेपाली नागरिकता पाउँछन्। तर, ४७ वर्षपछि मात्र नागरिकता पाएका नथु दमाईं खुसीले दंग छन्। गाउँघरमा सिरक–डस्ना सिलाएर हातमुख जोर्दै आएका ६३ वर्षीय एकल पुरुष दमाई बुधबार जिल्ला प्रशासन कार्यालय सिराहाबाट वंशजको आधारमा नेपाली नागरिकता पाएपछि फुरुंग भएका हुन्।

‘न श्रीमती न छोराछोरी, गाउँघरमा सिरक–डस्ना सिलाएर ज्यान पाल्दै आएका दमाईंलाई वडा कार्यालयको पहल र प्रयासमा सबै कागजात पुर्‍याएर सनाखतमा उनका भाइलाई राखिएपछि नागरिकता बनेको हो,’ गोलबजार– ३ का वडाध्यक्ष धनप्रसाद लामाले भने। ०१८ सालमा जन्मिएका दमाईंले २१ वर्षको उमेरमा नागरिकता बनाउन खोजिरहेका वेला बाबु मुगालालको निधन भएपछि नागरिकता बन्न नसकेको उनले बताए।

‘पछिल्लो दुई वर्षदेखि उनको नागरिकताका लागि सनाखत बसिदिन त्यही वडाको छिमेकी गाउँमा बस्दै आएका कान्छो भाइ मित्रलाल र सिन्धुलीमा बसोवास रहेका माहिलो भाइलाई कैयौँपल्ट अनुरोध गर्‍याैँ,’ उनले भने, ‘बाबुआमाको नागरिकता लिएर सिन्धुलीमा बस्दै आएका भाइले त झन् मागेका वेला नागरिकता नै नदिँदा नागरिकता बन्न सकिरहेको थिएन।’

दलित ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता खान योग्य उमेर तीन वर्ष घर्किसक्दा पनि भाइले बाबुआमाको नागरिकता नदिएपछि वडाको समन्वयमा गाउँका केही युवकलाई सिन्धुली पठाएर नागरिकता झिकाई गाउँका छिमेकी भाइलाई सनाखतमा राखेपछि नागरिकता बनेको उनले बताए। ‘चालू आवमै सामाजिक सुरक्षा भत्ताका लागि आवेदन लिएर प्रक्रिया सुरु गर्छौँ,’ उनले भने।

‘नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तासहित राज्यबाट पाउने अन्य सेवा–सुविधाबाट वञ्चित हुँदै आएको थिएँ,’ दमाईंले भने, ‘अब त नागरिकता पनि बन्यो, सरकारले दिने भत्ता पाउन थालेपछि पेट पल्न भरथेग होला नि।’