सुत्केरी हुँदा साल अड्किएर अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका– ६ की २९ वर्षीया सरितादेवी जैसीको साल अड्किएर मृत्यु भएको हो । बिहीबार बिहान सुत्केरी बेथा लागेपछि उनको गाउँ गल्बालबाट ढुंगाचाल्ना स्वास्थ्य चौकी लैजाने क्रममा बिहान ३ बजेतिर सरिताले बाटोमै बच्चा जन्माएकी थिइन् ।
बच्चा जन्मिएर अत्यधिक रक्तस्राव हुन थालेपछि ढुंगाचाल्ना स्वास्थ्य चौकी लगिएकी उनको साल निकाल्न नसकिएको भन्दै स्थानीय स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पताल मंगलसेन रिफर गरेका थिए । बिहान साढे नौ बजे सदरमुकाम मंगलसेन पुग्नुअघि नै उनको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल मंगलसेनका डाक्टर अतुल भारद्वाजले बताए ।
उनका अनुसार साल अड्किएर रगतभित्रै थुनिएपछि उनको बोटोमै मृत्यु भएको हो । डाक्टरका अनुसार सुरुमा अत्यधिक रक्तस्राव हुनु र त्यसपछि साल निस्किन नसकेर अड्किएपछि उनी लामो समय टिक्न नसकेको देखिन्छ। ढिलो गरी अस्पताल ल्याउँदा उनको मृत्यु भएको डाक्टर भारद्वाजले बताए। मृतक सरिताले जन्म दिएको छोराको अवस्था भने ठिक छ ।