मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Saturday, 21 December, 2024
२o८१ असोज १७ बिहीबार o६:o४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मध्यपूर्वमा बढ्यो युद्धको दायरा र सन्त्रास

इजरायल र लेबनानमा रहेका करिब ६२०० नेपाली सर्वसाधारण र ८०० सैनिक सुरक्षित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार o६:o४:oo

इरानले मंगलबार राति इजरायलमा सयौँ मिसाइल प्रहार गरेपछि मध्यपूर्वमा युद्धको दायरा र सन्त्रास बढेको छ । इजरायलले लेबनानको हिजबुल्लाह समूहका प्रमुखको हत्या गरेपछि त्यसको प्रतिक्रियात्मक कारबाहीले तनाव बढ्दै छ र आगामी दिनमा ठुलो युद्धको आंशकासमेत जन्माएको छ । युद्धमा अरब र बाँकी विश्वकै धेरै देश दुई ध्रुवमा बाँडिँदै छन् । 

अनिश्चय र युद्धको त्रासदी माझ इजरायल र लेबनानमा रहेका करिब ६ हजार २०० नेपाली सर्वसाधारण र करिब ८०० शान्ति सैनिक हालसम्म सुरक्षित नै छन् । इजरायलमा विद्यार्थीसहित करिब पाँच हजारजना र लेबनानको राजधानी बेरुतको उत्तरी क्षेत्रमा १२ सय नेपाली छन् । लेबनान–इजरायल सीमा क्षेत्रमा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत करिब ८५० जनाको गणस्तरीय फौज तथा सैन्य पर्यवेक्षक र स्टाफ अधिकृत गरी जम्मा  ८७७ जना कार्यरत छन् ।

लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालका अनुसार लेबनानको बेरुत र आसपासमा करिब १२ सयको संख्यामा नेपाली छन् । ‘राजधानी बेरुतको उत्तर र पूर्वी क्षेत्र शान्त छ । लम्सालका अनुसार बेरुत विमानस्थलमा उडान घटेको छ । तर, उडान बन्द भएको छैन । नेपालीहरू प्रायः त्यहीँ छन् । उनीहरू हाम्रो सम्पर्कमा छन् । सुरक्षित छौँ भनेका छन्,’ राजदूत लम्सालले टेलिफोनमा भने, ‘केही नेपालीले भने प्लेनको टिकट काटेर स्वदेश फर्किन लागेको जानकारी दिनुभएको छ ।’ 

बेरुतको सुन्नी मुस्लिम बहुल क्षेत्र र इसाई बहुल क्षेत्रमा अधिकांश नेपाली घरेलु कामदारका रूपमा कार्यरत छन् । सानो संख्याका नेपाली होटेल र कम्पनीमा कार्यरत छन् । ‘लुगा सिलाउने कामका लागि कतार गएका केही नेपाली पनि कतारको कम्पनीका तर्फबाट बेरुत पुर्‍याइएका रहेछन्,’ राजदूत लम्सालले भने, ‘उनीहरू सबै हाम्रो सम्पर्कमा छन् । सुरक्षित छन् ।’ 

उत्तर पूर्वी बेरुतमा रहेका नेपाली कामदारलाई उनीहरूका मालिकले आवश्यक परे उद्धार गरिदिने आश्वासन दिएका छन् । ‘अप्ठेरो परेको छैन । परिहाल्यो भने घरका मालिकले सँगै साइप्रस जाउँला भन्ने आश्वासन दिएका छन् । त्यो क्षेत्र शान्त पनि भएको र सिया मुस्लिम बाहुल क्षेत्र नभएको हुनाले समस्या छैन भन्ने जानकारी आएको छ । हामीले परिस्थिति क्षणक्षणमा नजिकबाट नियालिरहेका छौँ,’ राजदूत लम्सालले भने । 

इजरायलमा पाँच हजार नेपाली, सबै सुरक्षित
इजरायलमा करिब पाँच हजार नेपाली रहेको र सबै सुरक्षित रहेको त्यहाँका कार्यबाहक नेपाली राजदूत हरिबहादुर श्रेष्ठले बताए । ‘इरानले राजधानी तेलअभिभमाथि मिसाइल प्रहार गरेपछि युद्धको सन्त्रासमा नेपालीहरू बंकरमा लुकेर बसेका र युद्ध सकिएपछि बाहिर निस्केको जानकारी आएको छ,’ कार्यबाहक राजदूत श्रेष्ठले टेलिफोनमा भने, ‘हामी सम्पर्कमा छौँ । समस्या परेको भन्ने खबर हामीलाई आएको छैन ।’ 

इजरायलमा युद्धको सधैँ त्रास हुने भएकाले हरेक घरभित्र बंकर बनाइएको छ । सुरक्षा निकायले साइरन बनाएपछि सबैजना बंकरमा लुक्ने गरेका छन् । 

दक्षिण लेबनानमा शान्ति सैनिक बंकरमा
लेबनान र इजरायलबिच युद्धपछि संयुक्त राष्ट्रसंघको पहलमा सन् २००० मा ११० किलोमिटर काल्पनिक सीमारेखा (ब्लुलाइन) कोरियो । सीमारेखाको सबैभन्दा संवेदनशील १५ किलोमिटर क्षेत्रको निगरानीमा राष्ट्रसंघीय अन्तरिम फोर्स (युनिफिल)को नेतृत्वमा नेपाली शान्ति सैनिक खटिएका छन् । युद्धको त्रासदीमाझ शान्ति सैनिक बंकरमा छन् । 

‘लेबनानको सीमा क्षेत्रमा खटिएका हाम्रा शान्ति सैनिक सुरक्षित रूपमा बंकरमा छन् । अहिले गस्ती रोकिएको छ,’ सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले नयाँ पत्रिकासँग भने, ‘ब्लुलाइन क्षेत्रमा खासै समस्या छैन । हाम्रो फौज भएको ठाउँको अवस्था सामान्य छ । यद्यपि, फौज बंकरमा राखिएको छ ।’ सैनिक प्रवक्ता केसीले संयुक्त राष्ट्रसंघले पनि नजिकबाट त्यहाँको परिस्थितिको अवलोकन गरिरहेको छ र अहिले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । 

दक्षिण लेबनानमा नेपाली शान्ति सैनिक रहेको सीमा क्षेत्र राजधानी बेरुतबाट करिब ३०० किलोमिटरको दूरीमा छ । ‘ब्लिदाको जैतुनबारी, सोइबको इनार, बादीसुलुकी र शेख अब्बादको चिहान सीमारेखाको सबैभन्दा संवेदनशील क्षेत्र हुन्,’ एक शान्ति सैनिकले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘अहिले इजरायलले हिजबुल्लाह र प्यालेस्टाइनका मानिसहरू बसेको ठाउँमा टार्गेटेड आक्रमण गरेको छ । हामी रहेको क्षेत्र टार्गेटेड क्षेत्र नभएकाले असामान्य छैन ।’

राष्ट्रसंघले इजरायल र लेबनानबिच एउटा चिहान र इनार आधा आधा दुवैपट्टि पर्ने गरी सीमारेखा कोरेको छ । चिहान र इनारको सीमा स्पष्ट व्याख्या नगरेका कारण दुवैतर्फ विवाद छ । सीमारेखाले काटेका नौवटा जैतुनको बारी पनि विवादित क्षेत्र हो । त्यहाँ कुनै पनि वेला हिजबुल्लाह र इजरायलबिच हिंसा भड्किने खतरा रहँदै आएको छ । 

जानकार अधिकारीका अनुसार सीमारेखामा शेख अब्बाद नामका दार्शनिकको चिहान छ । लेबनानले त्यसलाई आफ्ना दार्शनिक÷समाजसुधारक शेखको चिहान दाबी गर्दै आएको छ । तर, इजरायलले त्यसलाई आफ्ना ‘भगवानसरहका दार्शनिक’ रबी यसीको चिहान दाबी गरेको छ । चिहानको बिचमा सीमारेखा छ । सीमापारी इजरायली डिफेन्स फोर्सको क्याम्प छ भने वारिपट्टि लेबनिज आर्म फोर्सको पनि पोस्ट छ । 

चिहान भएको स्थानबाट सिरिया र इजरायलको सीमा नजिक पर्ने गोलानहाइट क्षेत्रको माउन्ड हर्मन हिमाल नजिकै छ । सिरियाको नजिक र अग्लो स्थानका कारण इजरायल र लेबनान दुवैले यसलाई सामरिक हिसाबले महŒवपूर्ण ठानेका छन् ।