१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Wednesday, 16 October, 2024
डा. अफयार ए. एल्मी/युसुफ हसन
२o८१ असोज १ मंगलबार o९:२६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युद्धको सँघारमा पूर्वी अफ्रिकी देशहरू

Read Time : > 3 मिनेट
डा. अफयार ए. एल्मी/युसुफ हसन
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o९:२६:oo

पूर्वी अफ्रिकामा पछिल्लो समय तनाव चर्किएको छ, यो क्षेत्र विश्व तथा क्षेत्रीय शक्तिको खतरनाक युद्धमैदानमा रुपान्तरण हुन सक्छ । केही समयअघि इथोपियाले सोमालियाभित्र दुईपटक आफ्ना सेना पठाएर शक्ति प्रदर्शन गरेको छ । 

समस्याको सिङ हुन्छ, तर पुच्छर हुँदैन,’ यस सोमाली भनाइले विपत् आउनुअघि त्यसलाई रोकथाम गर्न सकिन्छ, तर विपत् आइसकेपछि सजिलै नियन्त्रण गर्न सकिँदैन भन्ने सन्देश दिन खोजेको छ । यस्तो पाठ पढाउने देश अहिले आफैँ एक गम्भीर संकटको सँघारमा उभिएको छ । इथोपियाका प्रधानमन्त्री अबी एहमदको विस्तारवादी महत्वाकांक्षा र गैरजिम्मेवार नीतिले ‘हर्न अफ अफ्रिका’ भनिने भेगमा युद्धको कालो बादल मडारिन पुगेको छ । युद्ध भड्किए त्यसले यस क्षेत्र मात्र होइन, समग्र विश्वलाई नै असर पार्नेछ । त्यसैले धेरै ढिलो हुनुअघि नै अहिलेको तनावलाई रोक्न ध्यान दिनुपर्छ ।

द्वन्द्वको बिउ हो– इथोपियाका प्रधानमन्त्री अबीको व्यग्रता र आफ्नो देशलाई जसरी पनि तटीय राष्ट्र बनाउने हुटहुटी । गत वर्ष उनले ‘इथियोपिया सधैँ भूपरिवेष्टित रहन नसक्ने र आफ्नो देशले समुद्रसम्म सीधा पहुँच पाउनैपर्ने’ घोषणा गरे । यस उद्देश्यका लागि आफू छलफल वा बल जे आवश्यक परे पनि प्रयोग गर्न तयार रहेको उनको चेतावनी थियो । अबीले आफ्नो महत्वाकांक्षा पूरा गर्न इथोपियासँग जोडिएका पाँच तटवर्ती देशमध्ये सबैभन्दा कमजोर सोमालिया छानेका छन् । यस वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा प्रधानमन्त्री अबीले सोमालिल्यान्डका राष्ट्रपतिसँग एक समझदारीपत्रमा हस्ताक्षर पनि गरे । सोमालियाबाट एकतर्फी रूपमा स्वतन्त्र भएको घोषणा गरेको सोमालिल्यान्डलाई कुनै पनि मुलुकले मान्यता दिएका छैनन् । यही तथ्यलाई टेकेर अबीले आफ्नो दाउ खेल्ने प्रयास गरेका छन् । उनले सोमालिल्यान्डको स्वघोषित स्वतन्त्रतालाई मान्यता दिने, बलदामा सोमालिल्यान्डले ‘गल्फ अफ एडन’को १२ माइल नाबिक आधार इथोपियालाई दिनुपर्ने सहमतिमा हस्ताक्षर गराए ।

इथोपिया र सोमालिल्यान्डबिच भएको यस सहमतिले सोमालियाको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको स्पष्ट उल्लंघन गर्छ । सोमालियाले तत्कालै समझदारीपत्रमा विरोध जनाउँदै कूटनीतिक सक्रियता बढाएको छ । इथोपियाले आफ्नो भूमि गैरकानुनी माध्यमबाट हडप्न लागेको कुरा उसले क्षेत्रीय राज्य तथा अन्तर्राष्ट्रिय शक्तिसम्म पुर्‍याइसकेको छ । संयुक्त राष्ट्र संघ, अफ्रिकी संघ, अमेरिका र युरोपेली संघ सबैले सोमालियाको अडानमा समर्थन जनाएका छन् । उनीहरूले अझ विशेष बाइडेन सरकारले स्थापित सिमाना तथा राष्ट्रिय सम्प्रभुताको सम्मान गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । तर, अन्तर्राष्ट्रिय दबाबका बाबजुद अबी आफ्नो उद्देश्यमा दृढ देखिन्छन् । उनले यो नै आफ्नो योजना कार्यान्वयन गर्ने उचित समय ठानेकोजस्तो देखिन्छ । एकातर्फ सोमालिया अतिवादी विद्रोहीसँग संघर्षमा फसेर कमजोर भएको छ । अर्कोतर्फ विश्व शक्ति अमेरिका मध्यपूर्व तथा युक्रेन युद्ध तथा नजिकिँदै गरेको निर्वाचनका कारण घरेलु राजनीतिमा केन्द्रित भएको समय छ । यदि अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जिते भने उनले आफ्नो कदमको समर्थन गर्ने वा बेवास्ता गरिदिने अबीको विश्वास छ ।

तनाव पछिल्लो समय थप चर्किएको छ । जुन महिनामा इथोपियाले दुईपटक सोमालियाभित्र उसका सेना पठाएर शक्ति प्रदर्शन गर्‍यो । जवाफमा सोमालियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा विरोध दर्ता गरायो । जुलाईमा सोमालियाको एउटा स्थानीय मिलिसिया समूहले हातहतियारले भरिएका दुई इथोपियाली ट्रक लुट्यो, जुन घटनाबाट इथोपियाले कमजोर छिमेकी देशमा हातहतियार पठाइरहेको तथ्य उद्घाटित भयो । विरोधमा सोमालियाले देशभित्र तैनाथ रहेको अफ्रिकी संघअन्तर्गतको शान्ति सेनामा रहेका इथोपियाली फौजलाई देशनिकाला गरिदिने धम्की दियो । त्यसपछि जुलाईमा एक दरिलो कदमका रूपमा सोमालियाले इथोपियाको प्रतिद्वन्द्वी मुलुक इजिप्टसँग प्रतिरक्षा सम्झौता गर्ने जनायो । उसले टर्कीसँग पनि उस्तै सम्झौता गरिसकेको छ ।

टर्कीले दुई देशबिचको विवाद कम गर्न मध्यस्थताको प्रयास गरिरहेको छ, तथापि त्यसले कुनै प्रतिफल दिइरहेको छैन । दुवै पक्ष आफ्ना अडानमा अडिग रहेको अवस्थामा पूरै क्षेत्र जुनसुकै वेला पड्किन सक्ने बममाथि बसेझैँ महसुस हुन्छ । युद्ध भड्कियो भने त्यो निकै विध्वंसात्मक हुनेछ । 

युद्धमा अत्याधुनिक हातहतियारले सुसज्जित प्रतिद्वन्द्वी मुलुक, जातीय तथा धार्मिक समूह र अन्तर्राष्ट्रिय समर्थक राष्ट्र संलग्न हुनेछन् । तीन दशक लामो विध्वंसात्मक गृहयुद्धबाट बिस्तारै बाहिर निस्किरहेको शिथिल सोमालियाले अर्को युद्धलाई झेल्न सक्नेछैन । इथोपिया आफैँ देशभित्र टिग्रे, अमहारा र ओरोमिया क्षेत्रमा उठेका विद्रोहसँग लडिरहेको छ भने सीमाक्षेत्रमा इरिट्रिया र सुडानसँग पनि विवाद झेलिरहेको छ । त्यसमाथि अर्को हजारौँ माइल लामो फैलिएको युद्धमोर्चा खोलियो भने देश धराशयी हुन सक्छ ।

पहिले नै सुडान युद्ध झेलिरहेको पूर्वी अफ्रिकामा अर्को अन्तरदेशीय युद्ध सुरु भयो भने समग्र क्षेत्र नै थप अस्थिर बन्न सक्छ । द्वन्द्वमा लाल सागरसँग जोडिएका र यसलाई तिनको राष्ट्रिय सुरक्षाको महत्वपूर्ण एकाइ मान्ने देशहरू साउदी अरब, इजिप्ट, यमन, सुडान, जिबुटी र इरिट्रिया पनि तानिनेछन् । जिबुटीमा अमेरिका, चीन र अन्य युरोपेली देशको सैन्य आधार छन् । टर्की, इरान, युएई र रुसले पनि द्वन्द्वमा चासो देखाएका छन् । यस्तोमा यो क्षेत्र विश्व तथा क्षेत्रीय शक्तिको खतरनाक युद्धमैदानमा बदलिन सक्छ । सम्पूर्ण अस्थिरताबिच पूर्वी अफ्रिका अन्तर्राष्ट्रिय व्यापार तथा सुरक्षाका लागि महत्वपूर्ण छ । ‘गल्फ अफ एडन’ र लाल सागरले एसियालाई युरोप र अमेरिकासँग जोड्छ । प्रमुख सामुद्रिक मार्गलाई अवरुद्ध बन्दा विश्वव्यापी व्यापार जोखिममा पर्नेछ । उत्तिकै चिन्ताजनक अवस्था इस्लामिक अतिवादी समूहको सम्भावित पुनरोदयले निम्त्याउनेछ । यसैले पूर्वी अफ्रिका अस्थिरता हुँदा समग्र विश्वमै जोखिम उत्पन्न हुनेछ ।

समय घर्किरहेको छ । गत महिनामा टर्कीले गरेको मध्यस्थताको प्रयास असफल भयो । यो भेग भयनाक द्वन्द्वमा पर्नबाट रोक्न विश्वले अमेरिकाको नेतृत्वमा अबी एहमदलाई उनको विस्तारवादी महत्वाकांक्षा स्विकारिनेछैन भनेर बताउनुपर्छ । अन्य कुनै भूपरिवेष्टित मुलुकले जस्तै इथोपियासँग पनि व्यापारिक प्रयोजनका लागि समुद्रसम्म पहुँच पाउने अधिकार छ । तर, त्यो अधिकार उसले सहकार्य तथा आर्थिक समायोजनमार्फत हासिल गर्न सक्छ, कुनै सार्वभौम देशलाई टुक्य्राएर होइन । यस क्षेत्रमा धेरै लगानी लगाएको वासिंटनले पनि पूर्वी अफ्रिकामा रहेका देशका नेताबिच वार्ता प्रवर्द्धन गर्न दबाब दिनुपर्छ । साथै उसले सोमालिया र स्वघोषित रूपमा अलग भएको सोमालिल्यान्डबिच मेलमिलाप गराउने प्रयास बढाउनुपर्छ । यो कार्य सजिलो हुनेछैन । तर, लाल सागर र गल्फ अफ एडनको महत्वलाई ख्याल गर्दा यस भेगमा अर्को युद्ध रोक्नु नै बुद्धिमत्तापूर्ण कदम हुनेछ । पूर्वी अफ्रिकाको अस्थिरतालाई मध्यनजर गर्दै विश्वले यस संकटको सिङमा समाइहाल्नुपर्छ । अन्यथा संकट सुरु भइसकेपछि समाउनका लागि कुनै पुच्छर हुनेछैन ।

डा. एल्मी सिटी युनिभर्सिटी अफ मोगादिसुका प्राध्यापक हुन् भने हसन सोही विश्वविद्यालयका अनुसन्धाता हुन् ।

(द न्युयोर्क टाइम्सबाट)