१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा नगदसहित सम्मान ग्रहण गर्दै पलेसा ।
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार o६:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पलेसाको पुरस्कार ९८ लाख पुग्यो

पारा ओलम्पिककी कांस्य पदक विजेता पलेसा गोवद्र्धन आइतबार नेपाल तेक्वान्दो संघबाट १० लाख र कांग्रेसबाट पाँच लाख नगद पुरस्कारसहित सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o६:५५:oo

पारा ओलम्पिक खेलकुद प्रतियोगितामा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनले स्वदेश फर्केको एक साताभित्र ९८ लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्दै पलेसा गत साता स्वदेश फर्केकी थिइन् । स्वदेश फर्केपछि उनलाई नगदसहित सम्मान थाप्न भ्याइनभ्याई छ । 

पलेसा आइतबार एकै दिन दुई फरक–फरक कार्यक्रममा नगदसहित सम्मानित भइन् । कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पाँच लाख र नेपाल तेक्वान्दो संघले १० लाख रुपैयाँसहित उनको सम्मान गरेका छन् । सरकारबाट कर छुटसहित ६५ लाख र एनसेलले १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

गत बुधबार राष्ट्रिय खेलकुद परिषद्ले भव्य स्वागतसहित नगर परिक्रममा गरेकै दिन पलेसाले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी ओलीबाट सम्मान थापेकी थिइन् । प्रधानमन्त्री ओलीले नेपाललाई पारा ओलम्पिक खेलकुद प्रतियोगितामा ऐतिहासिक कांस्य दिलाएकी खेलाडी पलेसालाई सरकारले दिने ६५ लाख रुपैयाँमा कर छुट हुने बताएका थिए । 

पलेसाले अहिलेसम्म काठमाडौं महानगरपालिकाबाट पाँच लाख, नेपाल उद्योग वाणिज्य महासंघबाट तीन लाख रुपैयाँ पाइसकेकी छिन् । गत शुक्रबार माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पलेसालाई सम्मान गरेका थिए । 

प्रशिक्षक नेगीले पाए २९ लाख 
नेपाललाई पारा ओलम्पिकमा पदक दिलाउन प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका कविराज नेगी लामा पनि पलेसासँगै नगदसहित सम्मानित भइरहेका छन् । प्रशिक्षक कविराजले पनि अहिलेसम्म २८ लाख ७५ हजार रुपैयाँ पाएका छन् । सरकारले १० लाख र एनसेलले १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

काठमाडौं महानगरबाट तीन लाख, उद्योग वाणिज्य महासंघबाट एक लाख २५ हजार, कांग्रेसबाट एक लाख ५० हजार र नेपाल तेक्वान्दो संघबाट तीन लाख रुपैयाँ नगद पुरस्कारबाट उनी सम्मानित भएका छन् । कांग्रेसले पारा ओलम्पिकमा सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई ५० हजार नगदसहित प्रशंसापत्र दिएको छ ।

तेक्वान्दो संघको सम्मान
नेपाल तेक्वान्दो संघले आइतबार साँझ पलेसासँगै पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । संघले प्रशिक्षक कविराज र खेलाडी भरतसिंह महतालाई नगदसहित सम्मान गरेको हो । संघको सम्मान कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले पलेसालाई २५ हजार र खेलाडी भरतलाई व्यक्तिगत रूपमा १० हजार रुपैयाँ प्रदान गरेका छन् । 

संघलेले पारा तेक्वान्दोको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पारा कमिटीको संयोजक कसिम मियाँ धोबीलाई सम्मान गर्‍यो । संघले पलेसाका आमाबुबालाई पनि सम्मान गरेको थियो । १४ भदौमा पेरिसमा भएको पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको के–४४ तर्फ महिला ५७ तौल समूहमा पलेसाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जितेकी थिइन् । 

पलेसाले देशको इज्जत र प्रतिष्ठा बढाइन् : देउवा
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान कार्यक्रममा पलेसाले पार ओलम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताएका छन् । ‘ओलम्पिकमा पलेसाको सफलताले देशको इज्जत र प्रतिष्ठा बढाएको छ । उनको यो सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्नेछ,’ देउवाले भने, ‘कीर्तिमान रचेकी खेलाडीलाई आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना छ ।’ 

यसैगरी, खेलकुदमन्त्री तेजुलाल चौधरीले पलेसाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउँदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा राखेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुदमार्फत विश्वव्यापी रूपमा नेपाललाई चिनाएको बताए । खेलकुद राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको उनको भनाइ छ ।