
वीर अस्पतालको ज्येष्ठ नागरिक ओपिडी (बहिरंग) वार्ड सञ्चालनमा आएको छ । जनशक्ति कटौतीका कारण १० महिनादेखि बन्द रहेको उक्त वार्ड साउन पहिलो सातादेखि सञ्चालनमा आएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले सयजना नर्स थप गरेसँगै उक्त वार्ड सञ्चालनमा आएको बताए । उनका अनुसार उक्त वार्ड २० कात्तिक ०८० देखि बन्द अवस्थामा थियो । ‘जनशक्ति नहुँदा ज्येष्ठ नागरिक ओपिडी वार्ड बन्द गर्नुपरेको थियो, पछिल्लो समय सयजना नर्स नियुक्त गरेपछि सञ्चालनमा ल्याउन सकिएको हो,’ उनले भने, ‘अब नियमित ओपिडी सेवा सञ्चालन हुन्छ ।’
ज्येष्ठ नागरिक वार्डमा २४ वटा जनरल शय्या छ । यहाँ उपचारका लागि दैनिक ७० जनासम्म ज्येष्ठ नागरिक आउने गर्छन् । कतिपयलाई छुट्टै ओपिडी सेवाबारे थाहा नहुँदा अन्य बिरामीको ओपिडीमा लाइन बस्ने गरेका छन् । अस्पतालले हरेक दिन बिहान ८ देखि १२ र १ देखि ४ः३० बजेसम्म ज्येष्ठ नागरिक ओपिडी सेवा सञ्चालन गर्दै आइरहेको छ ।
दुई सिफ्टमा बिरामी चेकजाँच गर्दा पनि चाप थेग्न कठिन
वीर अस्पतालमा सधँै बिरामीको भिड हुन्छ । अझ बिदाको भोलिपल्ट त ओपिडी तथा टिकट काउन्टरमा खुट्टो टेक्ने ठाउँसमेत हुँदैन । बिहान ८ देखि १२ र दिउँसो १ देखि ४ः३० बजेसम्म अस्पतालले ओपिडी सेवा सञ्चालन गर्दै आइरहेको छ । दुई सिफ्ट गरेर ओपिडीतर्फ दैनिक तीन हजारसम्म बिरामी आउँछन् । कतिपय अवस्थामा त बिरामीको चाप र सीमित जनशक्तिका कारण सेवा प्रवाहमा समेत कठिन हुने कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए ।
सबै शय्या सञ्चालन गर्न जनशक्ति अभाव
वीर अस्पतालमा कुल ९६६ शय्या छ । यसमध्ये हाल ७७५ शय्या मात्रै सञ्चालनमा छ । असोज ०८० देखि जेठ ०८१ सम्म ५५० शय्या मात्रै सञ्चालनमा थियो । साउन पहिलो साता अस्पतालले नर्सहरू थप गरेपछि सेवा प्रवाहलाई बढाएको हो । १९१ वटा शय्या अझै बन्द छन् । यी शय्या सञ्चालन गर्न सके बिरामीको चाप कम हुने र उपचारका लागि आएकालाई फर्काउन नपर्ने अवस्था आउने अस्पताल प्रशासनले जनाएको छ । ‘फुल फेज’मा शय्या सञ्चालन गर्न अझै जनशक्ति कम रहेको निर्देशक डा. पौडेलले जानकारी दिए । उनका अनुसार अन्य अस्पतालमा भन्दा वीरमा बिरामीको चाप हुने भएकाले पनि सबै शय्या सञ्चालनमा आए पनि केही भिड त हुन्छ नै, तर अहिलेको भिड भने कम हुनेछ । ‘वीर अस्पतालमा सबै प्रकारका बिरामी आउँछन्, भिभिआइपीदेखि विपन्नसम्म,’ उनले भने, ‘यो अस्पताललाई सरकारले मन खोलेर सञ्चालनका लागि सहयोग गर्नुपर्छ ।’ जनशक्ति पुग्दो मात्रामा नहुँदा आइसियूका शय्यासमेत बन्द छन् । ६० वटा आइसियूमध्ये ४२ वटा सञ्चालनमा छन् भने १८ वटा बन्द छन् । यी शय्या बन्द भएपछि उपचारका लागि आएका कतिपय गम्भीर बिरामीलाई समेत फर्काउनुपरेको अस्पताल प्रशासनले जनाएको छ । हाल बन्द अवस्थामा रहेका आइसियूसहितका सबैखाले शय्या सञ्चालन गर्न थप सात सयहाराहारी स्वास्थ्यकर्मी आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएको छ ।
दरबन्दीभन्दा कम जनशक्ति
वीर र न्याम्सतर्फ गरी हाल चिकित्सक, नर्स र अन्य कर्मचारी गरी एक हजार ३५७ जना कार्यरत छन् । यसबाहेक २९० जना सफाइ कर्मचारी छन् । सर्जिकल भवनतर्फको नयाँ स्वीकृत दरबन्दी ८३१ मध्ये ३६५, पुरानो दरबन्दी स्वीकृत ६६७ मध्ये ४७९ र न्याम्सतर्फको दरबन्दी ७६० मध्ये ५१३ मात्रै कार्यरत छन् । दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहका प्रत्यक्ष असर परेको निर्देशक पौडेलले बताए । हाल भइरहेको संख्या एक हजार ३५७ मध्ये पनि ५१३ कर्मचारी न्याम्सतर्फ प्रयोग भइरहेका छन् भने वीर अस्पतालतर्फ खटिने जनशक्ति ८४४ मात्रै छ ।