सरकारले नीति वा कूटनीतिको तुलनामा प्रविधिले तीव्र बजार प्रतिस्पर्धाको समयमा छिटो प्रगति गर्छ भन्ने बुझ्नुपर्छ
मानिसले सिर्जना गरेका उपकरणको व्यवस्थापन सजिलो छैन । सन् १९४० मा पहिलो परमाणु बम बन्दा त्यसका निर्माता वैज्ञानिकहरू बमले मानवतालाई खतरामा पार्न सक्ने चिन्तामा थिए । आणविक हतियार नियन्त्रणको चुनौती अद्यापि कायम छ । आज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई धेरै वैज्ञानिकले रूपान्तरणकारी उपकरणका रूपमा हेर्छन् । विगतका ठूला प्रविधिझैँ एआईमा सकारात्मक र नकारात्मक दुवै सम्भावना छन् । क्यान्सर अनुसन्धानमा एआईले मिनेटमा धेरै मात्रामा अध्ययनको विश्लेषण गर्न सक्छ, जब कि यसका लागि मानिसलाई महिनौँ लाग्छ ।
एआईले आतंककारी गतिविधि फैलाउने र रोक्ने दुवै काम सहजतापूर्वक सम्पन्न गर्न सक्छ । खतरनाक भाइरस एक लाख डलरमै बनाउन सकिन्छ, तर त्यसविरुद्ध खोप विकास गर्न एक अर्ब डलरभन्दा बढी लाग्न सक्छ । यसमाथि उन्नत एआई यति बुद्धिमान हुन सक्छ कि यसले हामीलाई नै नियन्त्रण गर्न सक्छ भन्ने पनि भय छ । यस्ता सुपरइन्टेलिजेन्ट (अति वुद्धिमान) एआईको विकास अबका केही दशकभित्र भइसक्ने अनुमान छ । तथापि अहिलेलाई वर्तमान एआई प्रणालीको बढ्दो जोखिमबारे गम्भीर हुन आवश्यक छ ।
४० वर्षदेखि भूतपूर्व सरकारी अधिकारी, प्राज्ञ, व्यापारिक अगुवा र पत्रकारको समूह ‘एस्पेन स्ट्राटेजी ग्रुप’ले महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न वार्षिक रूपमा भेला गर्दै आएको छ । अघिल्लो छलफलमा आणविक हतियार, साइबर आक्रमण र चीनको उदयजस्ता विषय समेटिएका थिए । यस वर्ष भने राष्ट्रिय सुरक्षामा एआईको प्रभावमा ध्यान केन्द्रित गरिएको थियो, जहाँ एआईका फाइदा र सम्भावित खतरा दुवैको विश्लेषण गरिएको थियो ।
एआईले विशाल गुप्तचरी तथ्यांक विश्लेषण गर्ने, प्रारम्भिक चेतावनी प्रणाली बढाउने, बन्दोबस्ती पर्याप्त गर्ने र कोड निरीक्षण गरेर साइबर सुरक्षामा सुधार गर्नेजस्ता फाइदा गर्छ भन्ने विश्लेषण भएको थियो । यद्यपि यसले स्वचालित हतियारमा प्रगति, प्रोग्रामिङ त्रुटि र साइबर सुरक्षालाई कमजोर पार्ने जोखिम पनि खडा गर्छ भनेर चिन्ता व्यक्त गरिएको थियो ।
चीनले एआई हतियारमा ठूलो लगानी गरिरहेको छ र यसको संरचनात्मक लाभ पनि छन् । एआईका लागि मुख्य स्रोतमा प्रशिक्षण मोडेलका लागि तथ्यांक, एल्गोरिदम विकासका लागि दक्ष इन्जिनियर र कम्प्युटिङ जनशक्ति समावेश छ । चीनसँग तथ्यांकको पहुँचमा थोरै कानुनी वा गोपनीयतासँग सम्बन्धित सीमा छन्, तर चीनले उज्ज्वल युवा इन्जिनियरको राम्रो आपूर्ति गर्छ । तर, एआईको कम्प्युटिङ पावर उत्पादन गर्ने उन्नत माइक्रोचिपको पहुँचमा चीन अमेरिकाभन्दा निकै पछाडि छ । अमेरिकी निर्यात नियन्त्रणले उन्नत चिप्स र डच लिथोग्राफी मेसिनमा चीनको पहुँचलाई नियन्त्रित गरेको छ । एस्पेनका विज्ञले स्थिति अस्थिर भए पनि चीन अमेरिकाभन्दा करिब एक वा दुई वर्ष पछाडि रहेकामा सहमत भएका थिए । राष्ट्रपतिद्वय बाइडेन र सी जिनपिङ एआईमा छलफल गर्न सहमत भए पनि प्रभावकारी एआई हतियार नियन्त्रणको सम्भावनाबारे एस्पेनमा थोरै मात्र आशा थियो ।
स्वचालित हतियारमा महत्वपूर्ण खतरा छन् । राष्ट्रसंघीय कूटनीतिको एक दशकभन्दा बढी समय बितिसक्दा पनि घातक स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने कुनै सम्झौता हुन सकेको छैन । अन्तर्राष्ट्रिय मानवीय कानुनले सेनाले लडाकु र नागरिकबीचको भिन्नता देखाउने आदेश दिन्छ र पेन्टागनले परम्परागत रूपमै हतियारमाथि मानव निरीक्षण आवश्यक छ भन्ने मान्छ । यद्यपि आगमन क्षेप्यास्त्रविरुद्धको रक्षाजस्ता परिस्थितिमा मानव संलग्नताका लागि पर्याप्त समय नहुन सक्छ ।
हालको सन्दर्भमा स्वचालित हतियारले के गर्न मिल्छ वा मिल्दैन भनेर जनाउने कोडलाई सटिक रूपमा परिभाषित गर्नु मानिसका लागि महत्वपूर्ण छ । यो मुद्दा काल्पनिक होइन, उदाहरणका लागि युक्रेन युद्धमा रुसी सेनाले युक्रेनी संकेत जाम गर्ने भएकाले युक्रेनीलाई कहिले धाबा बोल्ने भन्नेबारे स्वचालित निर्णयका लागि उपकरणमा निर्भर हुन बाध्य बनायो ।
एआईको सबैभन्दा डरलाग्दा जोखिममध्ये एक जैविक युद्ध वा आतंकवादमा एआईको सम्भावित प्रयोग हो । सन् १९७२ मा सबै मुलुकले जैविक हतियार ‘आत्मघाती’ पनि हुन सक्ने जोखिमका कारण प्रभावकारी नभएको भन्दै प्रतिबन्ध लगाएका थिए । यद्यपि सिन्थेटिक जीवविज्ञानमा भएको प्रगति हेर्दा लक्षित जैविक हतियार सिर्जना सम्भव हुन सक्छ । यसबाहेक प्रयोगशालामा पहुँच भएका आतंककारीले अत्यधिक संक्रामक भाइरस विकास गर्न एआईको प्रयोग गर्न सक्छन् । स्मरण रहोस्, सन् १९९५ मा विश्वको प्रलय अवश्यम्भावी छ भनेर विश्वास गर्ने जापानको ‘अउम सिनिरिक्यो’ पन्थका मानिसले घातक जैविक सरिन ग्यास प्रयोग गरेका थिए ।
सन् १९६८ मा विश्वभरका मुलुकले परमाणु प्रविधिका लागि अप्रसार अभिसन्धि गरेका थिए र अहिले यसमा एक सय ९१ राष्ट्र सदस्य छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले घरेलु आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोगका लागि हो भनेर सुनिश्चित गर्न निरीक्षण गर्छ । शीतयुद्धका प्रतिद्वन्द्विताका बाबजुद प्रमुख आणविक राज्य सन् १९७८ मा संवेदनशील प्रविधिको निर्यात सीमित गर्न सहमत भएका थिए । यस उदाहरणले एआईका लागि केही मार्गदर्शन प्रदान गर्छ । यद्यपि यी दुई प्रविधिबीच उल्लेखनीय भिन्नता पनि छन् ।
नीति वा कूटनीतिको तुलनामा प्रविधिले तीव्र बजार प्रतिस्पर्धाको समयमा छिटो प्रगति गर्छ भन्ने तथ्य सर्वविदितै छ । यो वर्षको एस्पेन रणनीति समूहको बैठकको एक महत्वपूर्ण निचोड सरकारले आफ्ना पहलकदमीलाई तीव्र बनाउनुपर्छ भन्ने रहेको थियो ।
(नाई जुनियर हार्भर्ड केनेडी स्कुलका इमिरेट्स प्राध्यापक एवं पूर्वअमेरिकी सहायक रक्षामन्त्री हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट