१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ असार १९ बुधबार o९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा  उत्तरप्रदेशमा सयभन्दा बढीको मृत्यु

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:२५:oo

दुर्घटनामा मर्नेको संख्या अझै धेरै हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् 

भारतको उत्तरी राज्य उत्तर प्रदेशको हाथरसमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा एक सयभन्दा बढीको ज्यान गएको छ । उत्तर प्रदेश प्रहरीको आगरा क्षेत्रको एडिजी कार्यालयले एक सयजनाको मृत्यु भएको पुष्टि भइसकेको बताएको बिबिसी हिन्दीको अनलाइन संस्करणले लेखेको छ । स्थानीय पत्रकार धर्मेन्द्र चौधरीका अनुसार आगराका चिफ मेडिकल अफिसर(सिएमओ)ले दुर्घटनापछि हाथरसको अस्पतालमा पोस्टमार्टमका लागि ठाउँ नरहेको बताए । दुर्घटनामा मर्नेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

कसरी भयो दुर्घटना
पत्रकारसँग कुराकानीमा प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिँदा दुर्घटना भएको जानकारी दिएका छन् । हाथरसका डिएम आशिष कुमारका अनुसार समारोहमा भिड बढ्दै गएपछि मानिसहरू गर्मी छल्न भिडबाट निक्लिने प्रयास गर्न थाले । एक्कासि धेरै मानिस बाहिरिँदा भागदौडा मच्चिएको प्रारम्भिक अनुसन्धानले देखाएको डिएम कुमारले बताए । हाल घटनाको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ । एसडिएमले यस कार्यक्रमका लागि अनुमति दिएका थिए । यो एक निजी कार्यक्रम भए पनि प्रशासनले ड्युटी गरेको थियो । तथापि कार्यक्रमस्थलभित्र भने व्यवस्था आयोजकले मिलाउने कुरा थियो । 

शीर्ष नेताद्वारा शोक व्यक्त
दुर्घटनाको विषय भारतको लोकसभामा समेत उठेको छ । देशका राष्ट्रपतिको सम्बोधनपछि धन्यवाद प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गरेका थिए । उनले मृतकका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उत्तर प्रदेश सरकारले अलग रूपमा मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारु दिने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा बोल्दै भने, ‘युपीको हाथरसमा भएको भागदौडमा धेरैको ज्यान गएको जानकारी आएको छ । यस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति म समवेदना व्यक्त गर्छु र राज्य सरकारको रेखदेखमा प्रशासनले राहत कार्यमा लागिरहेको विश्वस्त गराउँछु ।’ मृतकको यकिन संख्या अझै भन्न सकिने अवस्था छैन ।

उता घटना भएको उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘मुख्यमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूलाई तत्काल अस्पताल लगी उचित उपचार गराउन र घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालयका अधिकारीलाई निर्देशन दिएका छन् । त्यस्तै एडिजी आगरा र आयुक्त अलीगढको नेतृत्वमा घटनाको कारणको अनुसन्धान गर्न पनि निर्देशन दिएका छन् ।’ हाथरस दुर्घटनाप्रति रक्षामन्त्री राजनाथ सिंह तथा कंग्रेस सांसद तथा लोकसभाका विपक्षी नेता राहुल गान्धीले पनि दुःख व्यक्त गरेका छन् । 

घाइतेहरूलाई सिकन्दराउ ट्रमा सेन्टरमा लगिएको छ । दुर्घटनामा परेका पीडितका परिवारजनले स्थानीय पत्रकारसँग कुरा गर्ने क्रममा आक्रोश पोखेका भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेका छन् । ‘यति ठूलो दुर्घटना भयो तर कोही पनि शीर्ष अधिकारी यहाँ आएका छैनन् । भोले बाबामा यति ठूलो कार्यक्रम गर्ने अनुमति कसले दियो ? प्रशासन कहाँ छ ?’ स्थानीय पत्रकार धर्मेन्द्र चौधरीसँग सिकन्दराउ ट्रमा सेन्टरबाट बोल्ने क्रममा एक पीडितका आफन्तले भने । 
 

ad
ad
ad
ad