
ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेकाे बताइएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले बाढी तथा पहिरोको २० वर्षको अवस्थालाई मध्यनजर गर्दै जोखिमबारे औँल्याएको हो। जिल्लाको सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनामलगायत ४ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।
फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला ५ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। उता, सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोप पनि पहिरोको उच्च जोखिममा रहेका बताइएको छ।
पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गरी तीनवटा वडा, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन तथा मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेका छन्।
जिल्ला विपद् व्यस्थापन समितिका अनुसार मैवाखोला गाउँपालिकाका पाँचवटा वडा पहिरोको उच्च जोखिममा छन्। सदरमुकामसमेत रहेको फुङलिङ नगपालिकाको ११ मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। पहिरोको उच्च जोखिममा नगरपालिकाको १, ६, ७, ८ र १० वडाहरू रहेका बताइएको छ। जिल्लाका ६१ वडामध्ये फुङलिङका २ वटा वडाबाहेक ५९ वडा पहिरोको जोखिममा छन्।
सदरमुकाम छेउमा रहेका हाङदेवाको हिरेवा र चिनेवा पहिरोले ठूलो रूप लिएमा सदरमुकाम खतरामा रहेकोतर्फ पनि समितिले ध्यानाकर्षण गराएको छ। नाङखोल्याङ, लिङखिम–थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रूपमा बगिरहने जिल्लाकै ठूला पहिरोको रूपमा लिइएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताए। जिल्लामा भएका पहिरोको अध्ययनको सिलसिलामा यस्तो निष्कर्षमा पुगिएको उनको भनाइ छ।
साना मानिएका सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेप आदि पहिरो पनि नियमित बगिरहेका छन्। यी पहिरोले विगतदेखि नै जिल्लामा जनधनको क्षति गरिरहेका बताइएको छ। यी पहिरोका कारण सर्वसाधाारणमा त्रास बढिरहेको त छ नै, विकास निर्माणमा पनि ठूलो बाधा पुगेको छ।
विगतलाई हेर्दा असारदेखि असोज महिनासम्मै पहिरोबाट जिल्लामा ठूलो क्षति भएको देखिन्छ। २०७२ सालमा जिल्लाका तत्कालीन गाविसहरू खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो। सो पहिरोबाट अर्बौँ रुपैयाँ बराबरको क्षति हुनुका साथै सयौँ घरपरिवार विस्थापित भएका थिए। २०७३ सालमा दोखुमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो। साथै, सयौँ घरपरिवारको उठिबास भएको थियो।
मनसुनकाे सुरुमै बाढीपहिराेकाे प्रकाेप
मनसुन सुरु हुनासाथ जिल्लामा बाढीपहिरोको वितण्डा सुरु भएको छ। जिल्लामा गएराति परेको पानीले विभिन्न ठाउँमा सडकहरू अवरुद्ध भएका छन्।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसेवाखोलामा आएको बाढीले पुलहरू बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ। वर्षासँगै बिहीबार बिहान बाढी आएको थियो। सिसेवाले बगाएर ल्याएको ढुंगा, माटो र गेग्य्रानले तमोर नदीमा समेत ड्याम बगाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिए।
तमोर नदीमा बनेको बहाब भने अहिले घटेको छ। पानीको बहाब घटेसँगै तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरहरू सुरक्षित रहेको वडाध्यक्ष लिम्बूले बताए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले तमोर नदीको ड्याम खुलेको र खतरा नभएको बताए। लुंगेलीका अनुसार फक्ताङलुङ छेउमा रहेको सिसावा खोलाको पुल बगाएकाले सदरमुकामसँगको सम्पर्क टुटेको छ। त्रिदेशीय सडक तमोर करिडोरमा समेत आवजावत बन्द भएको छ। तमोर करिडोरमा पर्ने फक्ताङलुङ गाउँपालिका ३ स्थित सिस्ने खोलामा बन्दै गरेको मोटरेबल पुललाई पनि क्षति पुर्याएको छ। नवनिर्मित पुलको पिलर, सिमेन्ट र जिपसमेत बगाएको बताइएको छ।
उता, मिक्वाखोला गाउँपालिका ३ च्यानडाँडामा पहिरो गई मिक्वाखोला गाउँपालिका सावाँ जाने सडक अवरुद्ध भएको छ। सोही गाउँपालिकाको वडा नं. १ शान्ति चोकस्थित भष्मेखोलामा पहिरो गई बाटो अवरुद्ध भएको बताइएको छ। गत वर्ष असार ३ गते सिदिङ्वा गाउँपालिका मेहेलेमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भएका थिए।
विगत तीन वर्षलाई हेर्ने हो भने आर्थिक वर्ष ०७७-७८ मा बाढी तथा पहिरोमा परी पाँचजनाको मृत्यु भएको थियो। त्यस्तै, आव ०७८-७९ मा २ जनाको मृत्यु भएको थियो। तीन वर्षको अवधिमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।