सरकारले अहंकार त्याग्नुपर्छ : माधव नेपाल

२०७६ जेठ १ बुधबार १८:३०:०० | काठमाडाैं

सत्तारुढ दलका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे उनले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै सरकारलाई सुध्रिन सुझाव दिए ।

उनले कम्युनिस्ट आन्दोलनलाई बचाई लोकप्रीय बनाउने तर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरे । बहुमतको अंहकारमा नपर्न सरकारलाई सचेत गराए । ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्ने हो,’ उनले भने, ‘हामी बोल्ने बढी सुन्ने कम गर्दैछौं । जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् ।’

भाषणको प्रतिष्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन सुरु गरेका पुर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको सम्मृद्धि मुठ्ठी भरको जमातका लागि मात्र नभएको भन्दै ब्यंग्य गरे । 

‘प्रगति यथेष्ट छैन । हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ,’ उनले भने, ‘ ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो राम्रो कामबाट मात्र गर्न सक्छौं ।’

प्रतिकृया दिनुहोस