मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फास्ट ट्रयाकको ‘लेनडाँडा’ सुरुङ ‘ब्रेक थ्रु’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२१:oo

काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक सडक आयोजनाअन्तर्गत ६ सुरुङमार्गमध्ये लेनडाँडा सुरुङमार्ग निर्माणमा सफलता

काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत ६ सुरुङमार्गमध्ये एउटा लेनडाँडा सुरुङमार्ग निर्माणमा सफलता मिलेको छ । सेनाले व्यवस्थापन गरेको आयोजनाअन्तर्गतको सुरुङमार्ग शुक्रबार वारपार छिचोलिएको छ । अर्को सुरुङमार्ग पनि छिचोलिने क्रममा रहेको सेनाले जनाएको छ । 

‘राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ एउटा छिचोलिएको छ,’ सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले भने, ‘द्रुतमार्ग निर्माणका सन्दर्भमा यो महत्वपूर्ण सफलता हो ।’ 

सहायकरथी गौरवकुमार केसी, प्रवक्ता, सेना

राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ छिचोलिएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा यो महत्वपूर्ण सफलता हो ।

जम्मा १६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको हो । ‘निगगढबाट काठमाडौं आउने यही लम्बाइको सुरुङमार्ग पनि छिचोलिने क्रममा छ,’ केसीले भने । तीन निर्माणाधीन सुरुङमार्गमध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङमार्ग छिचोलिएको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको उनले बताए । 

ललितपुरको खोकनादेखि निजगढसम्म द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर छ भने द्रुतमार्ग ११ प्याकेजमा छ । केसीका अनुसार १० प्याकेजको ठेक्का प्रक्रिया पूरा भएको छ । खोकनाबाट सुरु हुने ११औँ प्याकेजको स्थानीय बासिन्दाको अवरोधका कारण ठेक्का प्रक्रिया नै सुरु हुन सकेको छैन । खोकनामा जग्गा अधिग्रहण हुन सकेको छैन ।

फास्ट ट्रयाकलगायत पाँच परियोजना त्यस क्षेत्रमा पुग्ने र बस्तीलाई ठूलो असर गर्ने भन्दै स्थानीय विरोधमा छन् । यद्यपि, त्यहाँ फास्ट ट्रयाक तथा विद्युत्को हाइटेन्सन लाइनबाहेकका परियोजनामा प्रगति भएको छैन । स्थानीयले तोकिएभन्दा थप मुआब्जाको माग पनि गरेका छन् । खोकनामा चार सय ११ रोपनी जग्गा अधिग्रहण टुंगिन बाँकी छ । 

सरकारले १ वैशाख ०७१ मा द्रुतमार्ग निर्माण गर्ने जिम्मा सेनालाई दिएको थियो । डिपिआरअनुसार फास्ट ट्रयाकको लागत भ्याटसहित कुल एक खर्ब ७५ अर्ब रुपैयाँ अनुमान थियो । ०८१ सम्म सम्पन्न हुने अवस्थामा यो बजेट अनुमानित थियो । तर, मूल्यवृद्धिलगायत मूल्यांकनका आधारमा कुल लागत दुई खर्ब १३ अर्बसम्म पुग्न सक्ने सेनाको डिपिआरमा उल्लेख छ । द्रुतमार्ग सम्पन्न हुने अवधि दुई वर्ष थपिएर ०८३ वैशाख पुगेको छ ।

अब द्रुतमार्गको लागत बढ्ने अनुमान छ । द्रुतमार्गमा जम्मा ११ किलोमिटरमा ८७ पुल निर्माण हुनेछन् भने कुल साढे ६ किलोमिटरमा तीन जोडी (६) सुरुङमार्ग निर्माण हुनेछन् । महादेवडाँडा, धेद्रे र लेनडाँडामा सुरुङ निर्माण हुनेछन् । द्रुतमार्गमा एकतर्फी यातायात सञ्चालन हुने गरी जुम्ल्याहा सुरुङमार्ग निर्माण हुनेछ । 

सरकारले १ भदौ ०७६ मा डिपिआर स्वीकृत गरेको थियो । त्यही मितिबाट साढे चार वर्ष (०८१ पुससम्म)मा द्रुतमार्ग निर्माण सक्ने लक्ष्य सेनाको थियो । अब ०८३ को समयसीमा छ । समयमै द्रुतमार्ग सम्पन्न गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।